खुमलटार युथ क्लब
काठमाडौं– तनावपूर्ण खेलमा च्याम्पियन चर्च ब्वाईजसँग स्तब्ध खुमलटार युथ क्लब शहीद स्मारक ए डिभजिन लिगको रेलिगेशनमा पर्दा अर्को खेलमा फ्रेण्ड्सले विभागीय टोली एपिएफ क्लबलाई पराजित गर्दै रेलिगेशन संकट टारेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तनावपछि भएको खेलमा चर्च ब्वाईजले खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो। यो हारसँगै खुमलटारको ए डिभिजन लिगबाट दोस्रो डिभिजनमा घटुवा भएको हो। यसै सिजन बढुवा भए पनि खुमलटारले शीर्ष डिभिजन रहने प्रदर्शन गर्न सकेन।
एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सीमित चर्च ब्वाइजले पहिलो हाफमा गरेको २ गोल नै जितका लागि पर्याप्त भएको हो। चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १–१ गोल गरे। १२औं मिनेटमा एरिक बिष्टको फ्रिकिक पासमा सुशीलले सुन्दर गोल गरेका थिए। पहिलो हाफकै इन्जुरी समयमा खेल तनावग्रस्त बनेपछि रेफ्रीले सुरक्षा माग गर्दै खेल स्थगित गरेका थिए। आधा घण्टापछि सुरु भएको खेलमा चर्च ब्वाइजले अर्को गोल दोस्रो गोल गरेको थियो। इन्जुरी समयमा बेम्पाले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाएका थिए।
यसअघि पहिलो हाफमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल तनावग्रस्त भएको थियो। रेफ्रीले खुमलटारको बेन्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए भने चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड खाँदा चर्च ब्वाइज १० खेलाडीमा सीमित भएको थियो। यससँगै च्याम्पियन चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोड्दै लिगको अन्त्य गरेको छ। खुमलटार भने २६ खेलमा २७ अंकका साथ पुछारमा रह्यो।
लिगअन्तर्गत शुक्रबार नै दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्स क्लबले अन्तिम खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ४–० ले पराजित गरेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेण्ड्सलाई जित दिलाउन टोरिक जेब्रिन, विकाश थापा, रफिक अमिनु र अख्रोबेक उक्टामोभले समान १–१ गोल गरे। यस जितसँगै फ्रेन्ड्सले आउँदो सिजन ए डिभिजन लिगमा रहने पक्का गरेको छ। एपिएफको यो हारले भने अब थ्री स्टार र एपिएफमध्ये एक टोली अर्को सिजन बी डिभिजनमा घटुवा हुने समीकरण बनेको छ। थ्री स्टारले रेलिगेसन टार्न अन्तिम खेलमा शनिबार जावलाखेल युवा क्लबलाई पराजित गर्नुपर्नेछ।
यस्तै, शुक्रबारकै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले सातदोबाटो युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकाल्दै सिजनको सुखद् अन्त्य गरेको छ। च्यासल मैदानमा शुक्रबार पुलिसले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो। पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे। हिजाजीले खेलको २१औं मिनेटमा गोल गरेका थिए। जितसँगै पुलिस लिगको सुखद अन्त्य गरेको छ। पुलिसले २६ खेलमा ४१ अंक जोड्यो। पुलिसले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ। सातदोबाटोले हारबाट सिजनको अन्त्य गरेको छ। सातदोबाटोले २६ खेलमा ३५ अंक जोडेको छ। सातदोबाटो पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।