काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको च्याम्पियन चर्च ब्वाइज बनेको छ। चर्च ब्वाइज युनाइटेडले डेब्यू सिजनमै उपाधि उचालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीचको खेलसँगै यस सिजनको लिग पनि सकिएको हो।
डबल राउण्ड रोबिनको आधारमा भएको लिगको अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १-० ले हराएको छ। यस्तै एफसी खुमलटार र विभागीय टोली एपीएफ क्लब रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा घटुवा भएको छ।
लिगको उपाधिसँगै चर्च ब्वाइजले ७५ लाख नगद प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको मछिन्द्र फुटबल क्लबले ५० लाख प्राप्त गरेको छ।
नेपाल पुलिस क्लबले तेस्रो हुँदै २५ लाख रुपैयाँ पाएको छ। फेयर प्ले टोली नेपाल पुलिस क्लबले ३ लाख प्राप्त गरेको छ।
यस्तै चर्च ब्वाइज युनाईटेड क्लबका कप्तान अनन्त तामाङ मोस्ट भ्यालुएबल प्लेयर हुँदै नगद ३ लाख प्राप्त गरे। सर्वाधिक गोलकर्ता बनेका मछिन्द्र फुटबल क्लबका आफिज ओलावाले २ लाख प्राप्त गरे।
सर्वोत्कृष्ट गोलकिपर बनेका चर्च ब्वाइजका प्रिसोले २ लाख प्राप्त गरे। थ्री स्टार क्लबका लाकेन लिम्बुले इमर्जिङ प्लेयर घोषित हुँदै १ लाख ५० हजार प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।