काठमाडौं- चाबहिल गणेशस्थान चौरमा मंगलबारदेखि दोस्रो वडाध्यक्ष कप भेट्रान फुटबल सुरु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको प्रतियोगितालाई चाबहिल स्पोर्टस् क्लब र चारुमती युवा क्लबले प्राविधिक सहयोग गरेका छन्।
चाबहिल भेट्रान र कपन भेट्रानबीच पहिलो खेल खेल सुरु गर्दै वडा नम्बर ७ का वडाध्यक्ष बिमलकुमार होडाले समाज, टोल र समुदायका बीचमा आत्मीयता बढाउन खेलले मद्दत गर्ने बताए।
वडा सदस्य एवं प्रतियोगिताका संयोजक सुरेश शाहीका अनुसार खेलका लागि नवलपरासीबाट २ टोली, बनेपाबाट १, हेटौंडाबाट १ र चितवनबाट १ गरी बाहिरी जिल्लाबाट ५ टोलीको सहभागिता छ।
नकआउटका आधारमा खेलाइने खेल हरेक दिन बिहान ८ बजेदेखि निरन्तर २ खेल र बेलुका ४ बजेदेखि एउटा खेल खेलाइनेछ। असार ४ गते खेलको अन्तिम प्रतिस्पर्धा हुनेछ।
खेलका विजेतालाई नगद १ लाख रुपैयाँसहित ट्रफी र उपविजेतालाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। यस्तै स्ट्राइकर, किपर, डिफेन्सरलगायत विभिन्न विधामा खेलाडीलाई नगद ५ हजारसहित पुरस्कृत गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।