काठमाडौं– आफ्ना मुख्य खेलाडी केलियन एम्बाप्पेले क्लब छाड्ने संकेत गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)मा हलचल भएको छ। लिग वान जायन्ट्स पीएसजीका मुख्य हतियार एम्बाप्पेले क्लब छाड्ने बताएसँगै पीएसजीको फ्रन्ट लाइनमा समस्या देखिने भएको छ।
यसअघि नै फ्रन्ट लाइनका अर्का मुख्य खेलाडी तथा विश्वविजेता लियोन मेसीलेसमेत क्लब छाडेर इन्टर मियामी पुगिसकेका छन्। फ्रन्टलाइनकै अर्का मुख्य खेलाडी नेयमारलेसमेत क्लब छाड्ने बताइरहेका छन्।
फ्रन्ट लाइनका मुख्य खेलाडीहरुले क्लब छाड्ने बताएसँगै पीएसजीमा तनाव थपिएको छ। एमबाप्पेले २०२४ पछि आफ्नो सम्झौता नवीकरण नगर्ने पीएसजीलाई बताएका छन्। २०२४ पछि सम्झौता नवीकरण नगरेको अवस्थामा पीएसजीले एम्बाप्पेलाई फ्रि ट्रान्सफरमा बिदा गर्नुपर्ने हुन्छ। त्यसो हुँदा पीएसजीले १८० मिलियन यूरो गुमाउने छ।
जसकारण पीएसजी एम्बाप्पेलाई अहिले नै बेचेर जतिसक्दा राम्रो आम्दानी गर्ने दाउमा छ। २४ वर्षीय युवा खेलाडी एम्बाप्पेले पीएसजीका लागि २६० खेल खेल्दै २१२ गोल र ९८ असिस्ट गरेका छन्। मोनाकोबाट पीएसजीमा आबद्ध भएका एम्बाप्पेले ५ लिग वान टाइटल र १३ डोमेस्टिक ट्रफी जितेका छन्।
सन् २०१८ को फ्रान्सले विश्वकप ट्रफी उचाल्दा एम्बाप्पेले सनसनी मच्चाएका थिए। उनले ६८ अन्तर्राष्ट्रिय खेलमा ३८ गोल गरेका छन्। ३८ गोल गरेका एम्बाप्पे फ्रान्सका लागि बढी गोल गर्नेको पाँचौं स्थानमा छन्। ओलिभर जिरुड ५३ गोलसहित सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने सूचीको पहिलो नम्बरमा छन्।
गत डिसेम्बरमा भएको कतार विश्वकपको फाइनल खेलमा एमबाप्पेले सन् १९९६ पछि पहिलो ह्याट्रिकको रेकर्ड राखे। तर अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै फ्रान्स लगातार विश्वकप ट्रफी उचाल्नबाट बञ्चित भयो।
यीनै स्टार खेलाडी एमबाप्पेलाई भित्र्याउने अहिले मुख्य गरी स्पेनिस क्लब रियल मड्रिड लागिपरेको छ। आफ्नो मुख्य स्ट्राइकर करिम बेन्जिमाले क्लब छाडेको अवस्थामा उनको स्थानमा एमबाप्पेलाई भित्र्याउने तयारी रियलले गरेको छ। रियलसँगै इंग्लिस क्लबहरु म्यानचेस्टर युनाइटेड, लिभरपुल, चेल्सीले पनि एम्बाप्पेमाथि नजर लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।