काठमाडौं– नेदरल्याण्ड्सलाई हराउँदै क्रोएसिया युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा क्रोएसियाले नेदरल्याण्ड्सलाई ४–२ गोल अन्तरले हरायो।
९० मिनेटसम्म खेल २–२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो। ३० मिनेटको अतिरिक्त समयमा २ गोल गर्दै ४–२ को नतिजासहित क्रोएसिया फाइनल प्रवेश गर्यो।
खेलमा सुरुवाती अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो। ३४ औं मिनेटमा म्याट विफरको पासमा डोनिएल मालेनले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा नेदरल्याण्ड्सले १–० को अग्रता लियो। दोस्रो हाफको ५५ औं मिनेटमा पेनाल्टीमार्फत् एन्ड्रेज क्रमारीले गोल गर्दै खेल बराबरीमा ल्याए। मारियो पासालिकले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता बनाए।
खेल क्रोएसियाले आफ्नो पक्षमा पारिसकेको थियो। ९० मिनेटपछि थप भएको अतिरिक्त समयको छैटौं मिनेटमा नोआ लाङले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। थप गरिएको ३० मिनेटमा थप २ गोल गर्दै क्रोएसियाले नतिाजा आफ्नो पक्षमा पार्यो। बु्रनो पेटोकोविचले ९८ मिनेटमा र पेनाल्टीमार्फत् लुका मोड्रिचले ११६ मिनेटमा गोल गरेपछि क्रोएसियाले ४–२ को जित निकाल्यो।
फाइनल प्रवेश गरेको क्रोएसियाले बिहीबार हुने स्पेन र इटालीमध्येको विजेता टोलीसँग फाइनल खेल्नेछ। नेदरल्याण्ड्सले बिहीबार हुने स्पेन र इटालीमध्ये पराजित हुने टोलीसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।