काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद सूचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अग्रसरता लिनुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि पनि उनले नै अग्रसरता लिनुपर्ने धारणा राखेका हुन्। अध्यक्ष तिमिल्सिनाले राजनीतिक विषय भएको हुनाले समस्या समाधानका लागि सरकार र प्रतिपक्षलाई संवादमा जान पनि आफूले निर्देशन दिइरहेको बताए।
संसद गतिरोधका सम्बन्धमा देखिएको समस्याको समाधान सदनभित्रबाट गर्न नसकिने पनि उनले उल्लेख गरे। अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले अमूर्त ढंगले नभई समाधानमुखी रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।
सदनमा प्रतिपक्षीले माग गर्ने र सरकारले त्यसको उचित सम्बोधन गर्ने पद्धति रहेकाले अध्यक्षको हैसियतले आफूले दुवै पक्षलाई यो वा त्यो गलत भन्ने अवस्था नरहेकाले संवाद गर्न सुझाएको बताए।
संसद्मा सरकार र राजनीतिक दलहरुलाई उत्तरदायी बनाउने आफूले प्रयास गरिरहेको उनको भनाइ छ। उनले आर्थिक विधेयकलाई पारित गराएर अघि बढ्न पनि संसद सुचारु गराउने विषयमा सरकार र दलहरु गम्भीर बन्नुपर्ने स्पष्ट पारे।
गत असार १८ गते भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेपछि संसद बैठक अवरुद्ध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।