काठमाडौँ– असार २९ गते रिलिज भएको नेपाली चलचित्र 'बगान'ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्सन गरेको छ। निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले ६९ लाख ७८ हजार १ सय ९१ग्रस कलेक्सन गरेको छ।
चलचित्रका निर्माता सुरेश वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको बताएका छन्। निर्माता वाग्लेले आफूले वितरकले दिएको हरेक दिनको हिसाबअनुसार नै कारोबार गर्ने हुँदा करिब ७० लाखको रिपोर्ट सार्वजनिक गरिएको बताए।
चलचित्र विकास बोर्ड अन्तर्गतको बक्स अफिसमा भने केही कम कलेक्सन रिपोर्ट देखिन्छ। यसो हुनुमा केही चलचित्र हलमा बक्स अफिस सिस्टम लागू भइनसकेको, कतिपय हलबाट समयमा नै तथ्याङ्क उपलब्ध हुन नसक्नु र दुरदराजका कतिपय हलमा प्राविधिक समस्या आई सिस्टमबाट टिकट बिक्री गर्न नसकिने समस्या देखिने हुँदा कलेक्शन रिपोर्ट केही कम देखिने बक्स अफिस अधिकृत प्रविण पाण्डेले बताए।
काठमाडौँको लोत्सेमलस्थित आईएनआई सिनेमा, काठमाडौँको ईन्फिनिटी सिनेमा, बिराटनगरको सेन्ट्रल मल्टिप्लेक्स, मोरङको बिराट सिनेमा, लालबन्दीको बिणा सिनेमा, बुटवलको आईएनआई क्यूबक्स, भक्तपुरको कमविनायक सिनेमा, बनेपाको शुभकामना हल, बर्दघाटको मोहिनी सिनेमा हल र गाईघाटको शुभलक्ष्मी सिनेमा हलबाट सिस्टममा 'बगान'को कलेक्शन रिपोर्ट नआएको पाण्डेले बताए।
त्यस्तै, विगत केहि दिनदेखि काठमाडौँको कमलपोखरीस्थित बिग सिनेमाले पनि समयमा रिपोर्ट उपलब्ध नगराएको उनले बताए।
'बगान'ले प्रदर्शनको एघारौँ दिन सोमवार पनि राम्रो व्यापार गरेको निर्माता वाग्लेले बताए।
सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ।
निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ। अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।