काठमाडौं- लियोनल मेसीको २ गोलको मद्दतमा इन्टर मियामीले सानदार जित निकालेको छ। नेपाली समयअनुसार बुधबार बिहान सम्पन्न भएको खेलमा मियामीले एट्लान्टा युनाइटेडलाई ४-० गोल अन्तरले हरायो।
मियामीको जितमा कप्तान मेसीले २ गोल गर्नुका साथै एक असिस्ट गरेका थिए। खेलको ८ मिनेटमै रोबर्टो टेलरको असिस्टमा मेसीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। त्यसपछि मेसीले दोस्रो गोल २२औं मिनेटमा गरे।
सर्जियो बुस्केट्सले दिएको ‘स्लो भलि’ पासलाई अगाडि बढाउँदै मेसीले प्रहार गरेको बल पोस्टमा लागेर बाउन्स भएको थियो। बाउन्स भएको बललाई पुनः मेसीले प्रहार गर्दै गोल गरे।
पहिलो हाफ २-० को अग्रता बनाएको मियामीले दोस्रो हाफमा थप २ गोल गर्यो। ४४ र ५३ मिनेटमा टेलरले गोल गरे। उनले बेन्जा क्रेमास्ची र मेसीको पासमा गोल गरे।
मेसी मियामी जानुपूर्व लगातार हार ब्यहोरिरहेको मियामीले मेसी आबद्ध भएपछि लगातार जित निकालेको छ। यसअघि मेसीकै फ्रि-किक गोलमा मियामी विजयी भएको थियो। मेसीले मियामीबाट २ खेल खेल्दै ३ गोल गर्नुका साथै १ असिस्ट समेत गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।