काठमाडौं– स्पेनिस ला–लिगाका २ महारथी तथा कट्टर प्रतिस्पर्धी बार्सिलोना र रियल मड्रिड (इएल क्लासिको) बीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रवाफिलो जित निकालेको छ।
प्रि–सिजन टुरअन्तर्गत अमेरिकाको टेक्सासस्थित एटी एण्ड टी रंगशालामा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–० को रवाफिलो जित निकाल्यो। बार्सिलोनाको जितमा ३ फरक–फरक खेलाडीले गोल गरे।
खेलको १५ औं मिनेटमा पेड्रीको ‘अफ बिट’ पासमा ‘सेकेन्ड’ बार च्याम्प्दै उसमान डेम्बेलेले गरेको प्रहार गोल भएपछि बार्सिलोनाले अग्रता बनायो। त्यसपछिको खेलमा रियल मड्रिडले बार्सिलोनामाथि निरन्तर दबाब राख्यो, तर गोल हुन सकेन। पहिलो हाफ बार्सिलोनाले १–० कायम राख्यो।
दोस्रो हाफमा पनि रियल मड्रिडले बार्सिलोनाका गोलरक्षक मार्कआन्द्रे टेरस्टेगनलाई व्यस्त बनाइ राख्यो। रियलका प्रहार टेरस्टेगनदे विफल बनाइराखे। ८५ औं मिनेटमा बार्सिलोनाका युवा खेलाडी फेर्मिन लोपेजले हानेको ‘रकेट सट’ गोल भएपछि बार्सिलोनाले २–० को अग्रता बनायो।
खेलको अतिरिक्त समयमा उनै लोपेजको पासमा फेरान टोरेसले रियलका गोलरक्षकलाई बिट गर्दै गोल गरेपछि बार्सिलोनाले ३–० को रवाफिलो जित निकाल्यो। रियलले बार्सिलोनालाई निरन्तर दबाबमा राख्दै सर्ट प्रहार गरे पनि गोल गर्न सकेन। खेलको म्यान अफ दि म्याच बार्सिलोनाका गोलरक्षक टेरस्टेगन भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।