काठमाडौं- महिला विश्वकपमा फुटबलमा पहिलो पटक सहभागी भएको मोरक्कोले कोलम्बियालाई १-० गोलले पराजित गरेको छ। अर्को खेलमा जर्मनी दक्षिण कोरियासँग बराबरीमा रोकिएको छ। दक्षिण कोरियाले जर्मनीलाई १-१ को बराबरीमा रोकेको हो।
कप्तान घिजलाने चेबको पेनाल्टी गोलले समूह एचमा रहेको मोरक्कोलाई सफलता दिलाएको थियो। यो जितसँगै मोरक्को दोस्रो चरणमा प्रवेश गरेको छ। कोलम्बिया भने यो समूहको शीर्ष स्थानमा छ।
दक्षिण कोरियासँग बराबरी खेलेपछि जर्मनी भने जारी विश्वकपबाटै बाहिरिएको छ। यसअघि फुटबलका शक्तिराष्ट्र ब्राजिल र इटाली पनि समूह चरणबाटै बाहिरिइसकेका छन्।
समूहको शीर्ष स्थानमा रहेको कोलम्बियाले अन्तिम १६ मा जमैकाको सामना गर्नेछ भने समूहमा दुई जित र एक हार व्यहोरेको मोरक्कोले अन्तिम १६ मा फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
विश्वविजेता अमेरिका पनि महिला विश्वकपको नकआउट चरणमा पुगेको छ। अमेरिकाले आइतबार तेस्रो वरियताको स्विडेनविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।