अस्पतालमा उपचारका क्रममा शाह काठमाडौं– नेपाल पुलिस क्लबका फुटबल खेलाडी तथा प्रहरीका सहायक हवल्दार भरत शाह कुटिएका छन्। उनलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान रितेश थापाले कुटपिट गरेका हुन्।
कुटपिटबाट गम्भीर घाइते भएका शाहको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ। कुटिने शाह सहायक हवल्दार हुन् भने कुटपिट गर्ने थापा प्रहरीका नायव निरीक्षक (सई) हुन्। दुवै जना राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) महाराजगञ्जमा कार्यरत छन्।
शाहमाथि भएको कुटपिटको घटनाबारे छानबिन गर्न प्रहरी उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेको नेतृत्वमा समिति बनाइएको छ। समितिले घटनाको सन्दर्भमा छानबिन सुरु गरिसकेको प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए।
राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले पार्टीका लागि भन्दै साउन १० गते उनीहरुसहितका केही व्यक्तिलाई एउटा रेस्टुरेन्टमा बोलाएका थिए। सोही बेला थापाले शाहलाई कुटपिट गरेको बताइएको छ। अहिले थापालाई निलम्बन गरेर छानबिन सुरु गरिएको छ।
निलम्बनमा परेका थापा यसअघि म्याच फिक्सिङ प्रकरणमा समेत मुछिएका थिए। पछि अदालतबाट सफाई पाएर उनी पुनः जागिरमा जोडिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।