काठमाडौं- कप्तान लियोनल मेसीको सनसनीपूर्ण प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा टाई ब्रेकरमा डलासलाई ५-३ गोल अन्तरले हराउँदै मियामी लिग्स कपको क्वाटरफाइनलमा प्रवेश गर्यो।
२ गोल अन्तरले पछि परेको अवस्थामा मेसीको उत्कृष्ट प्रदर्शनमा कमब्याक गर्दै मियामीले खेल बराबरीमा ल्याएको थियो।
खेलको छैटौं मिनेटमै जोर्डी अल्बाको पासमा मेसीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। ३७औं मिनेटमा फाकुन्डोले गोल गरेपछि डलासले खेल १-१ को बराबरीमा ल्याएको थियो।
पहिलो हाफको अन्तिम मिनेटमा बेनार्ड कामुन्गोले डलासका लागि दोस्रो गोल गरेपछि पहिलो हाफमा मियामी २-१ गोलले पछि पर्यो। अलन भेलास्कोले ६३औं मिनेटमा गोल गर्दै डलासको अग्रता दोब्बर बनाए। मियामी ३-१ गोलले पछि पर्यो ।
६५औं मिनेटमा बेन्जा क्रेमास्चीले गोल गरेपछि मियामीले खेल ३-२ मा झार्यो। तर रोबर्ट टेलरले ६८औं मिनेटमा आत्मघाती गोल गरेपछि डलासले पुन २ गोलको अग्रता बनायो। यतिखेसम्म मियामी ४-२ गोलले पछि परेको थियो।
८०औं मिनेटमा मेसीले हानेको फ्रि-किक बललाई क्लियर गर्ने क्रममा मार्को फर्फानले आत्मघाती गोल गरेपछि मियामी ४-३ को अवस्थामा आइपुगेको थियो। ८५औं मिनेटमा पाएको फ्रि-किकमार्फत मेसीले गोल गरेर खेल ४-४ को बराबरीमा ल्याए।
अन्तिम समयमा मेसीले गरेको गोलका कारण हारबाट बचेको मियामीले पेनाल्टी सुटआउटमा डलासलाई ५-३ गोल अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।