काठमाडौं– स्टार खेलाडी केलियन एम्बाप्पेलाई बेच्ने दाउमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बार्सिलोनका युवा स्टार अन्शु फातीलाई भित्र्याउने योजना बनाएको छ।
केही दिनअघिमात्रै बार्सिलोनाका विंगर उसमान डेम्बेले भित्र्याएको पीएसजीले फेरि बार्सिलोनाकै अर्का स्टार फातीलाई भित्र्याउन इच्छुक देखिएको हो। एमबाप्पेको उत्तराधिकारी बनाउने लक्ष्यसहित पीएसजीले फातीलाई ताके पनि फाती भने बार्सिलोनामै बस्न इच्छु रहेका छन्।
आइतबार मात्रै पीएसजीले फातीमाथि चासो राखेको रिपोर्ट बार्सिलोनामा पुगेको थियो। बार्सिलोनामा खेल्न पर्याप्त समय नपाएकाले फातीले बार्सिलोना छाड्ने बताइएको थियो। जसकारण पीएसजीबाट आएको उक्त प्रस्तावमा फाती पनि इच्छुक रहनसक्ने बताइएको थियो। तर २० वर्षीय युवा खेलाडी फातीले भने तत्कालै बार्सिलोना छाडेर पीएसजी जानेबारे नसोचेको बताएका छन्।
जाभी हर्नान्डेजको प्रशिक्षणमा फातीले अहिले कमै समय मैदानमा मौका पाउँदै आएका छन्। डेम्बेले पीएसजी गएपछि भने अब फातीले बढी मौका पाउने विश्वास गरिएको छ। जसकारण फाती अहिले बार्सिलोनामै रहँदै पूरानो लय फर्काउने मनस्थितीमा छन्। बार्सिलोना पनि अहिले नै फातीलाई बेचिहाल्ने पक्षमा देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।