काठमाडौं– लियोनल मेसी पीएसजी गएपछि उनको उत्तराधिकारीको रुपमा हेर्दै बार्सिलोनाले अन्शु फातीलाई १० नम्बरको जर्सी सुम्पिएको थियो। तर त्यसपछिका दिनहरुमा चोटबाट गुज्रेका फातीले आफ्नो पूरानो लय देखाउन सकेनन्।
२० वर्षीय यी युवा खेलाडी भने गत सिजनको अन्त्यदेखि भने फर्ममा आएका छन्। गत सिजनको अन्त्यतिर टोलीमा रिक्तता खट्किदाँ फातीले बार्सिलोनालाई पुनर्जिवित बनाउन सहयोग गरेका थिए। जसकारण अबको सिजन फातीका लागि सुनौलो हुने संकेत देखिएको छ।
उनै फातीले अबको सिजन राम्रो सुरुवात गर्ने संकेत देखाइसकेका छन्। भर्खरै सकिएको बार्सिलोनाको अमेरिका प्रि–सिजनमा उनकै गोलमा इटालियन जायन्ट्स एसी मिलान पराजित भयो। खेलको ५४ औं मिनेटमा उत्कृष्ट गोल गर्दै फातीले अबको सिजन आफू खतरानक हुने संकेत देखाए। उनकै उत्कृष्ट गोलमा बार्सिलोनाले मिलानलाई १–० ले पराजित गरेको थियो।
विपक्षीलाई झुक्याउने फातीको कला र नितरन्तर सुधारोन्मुक प्रदर्शनका कारण फातीमाथि बार्सिलोनाले आउँदो सिजन ठूलो आशा पनि राखेको छ। जसकारण अब क्याम्प नोउमा फातीले फेरि सनसनी मच्चाउन सक्ने विश्लेषण गरिएको छ।
फातीको यो प्रदर्शनलाई डेम्बेलेको डिपार्चरसँग जोडेर हेरिएको छ। डेम्बेले पीएसजी गएकाले बार्सिलोनाले एक पैसा पनि खर्च नगरी उनको ठाउँ अब फातीले लिनसक्ने विश्लेषण गरिएको छ। चोटबाट गुज्रेर मैदानमा उत्रिएका फातीले गत सिजन पनि सन्तोषजनक नै प्रदर्शन गरेका थिए। लिगका अधिकांश खेलहरुमा दोस्रो रोजाइमा मैदान छिरेका थिए। जसमा उनले ७ गोल गरेका थिए भने ३ असिस्ट गरेका थिए। फातीले आफ्नो त्यो फर्मलाई प्रि–सिजनमा पनि जारी राखेका छन्।
प्रशिक्षक जाभी आफ्नो योजनामा सफल हुन विभिन्न विकल्पहरु प्रयोग गर्न माहिर छन्। जसकारण आगामी सिजन पनि फातीले बार्सिलोनाको तर्फबाट मैदानमा कति समय बिताउन सक्छन् भन्ने विषयलाई मुख्य रुपमा हेरिएको छ। मिलानविरुद्ध फातीले गरेको गोल ‘मेसी–एक्क्यु स्ट्राइक’ प्रकारको थियो। बार्सिलोनाका फ्यानहरुले फातीको यो गोललाई लिएर ठूलो खुशी मनाएका थिए। गोलरक्षकको काँधमाथिबाट बल छिराउँदै फातीले सुन्दर गोल गरेका थिए।
1691412940.gif)
उक्त गोलपछि फाती टोली बाहिर बेन्चमा रहेका डेम्बेलेलाई अंगालो हाल्न पुगेका थिए। फातीले डेम्बेलेले खेल्ने साइटसँगै विपरीत पंक्तिबाट पनि खेल्न सक्छन्। यी २० वर्षीय भर्सटाइल युवा खेलाडी फाती कुनै पनि बेला बालोन डीओरसमेत जित्न सक्ने सामर्थ्य रहेका प्रतिभावान खेलाडी रहेको गोल डटकमले उल्लेख गरेको छ। फातीले मिलानविरुद्धको खेलमा अर्को गोल गर्ने अवसर पनि थियो। तर उनको प्रहार रोकियो। तै पनि उनको प्रभाव भने खेलमा कायमै रह्यो।
फातीको ड्रिबलिङ, जादुई प्रविधि र त्यससँग मेल खाने शारीरिक बनोटले पनि दर्शकहरुलाई मोहित पार्ने गर्छ। तर सन् २०२० नोभेम्बरमा घुँडामा चोट लागेकाले उनी ९ महिनासम्म मैदान बाहिर रहे। जसकारण उनलाई फर्ममा आउन धेरै समय लागेको थियो।
उनले गत सिजनको सबै प्रतियोगितामा गरेर ५१ खेल खेलेका थिए। जसमध्ये जम्मा १४ खेलमा मात्रै उनी सुरुवाती रुपमा मैदान उत्रिएका थिए। चोटबाट मैदान फर्किएपछिका सुरुवाती खेलमा भने उनी फर्ममा आउन कठिन संघर्ष गरिरहेका थिए। फातीको सुरुवाती प्रदर्शनबाट उनका फ्यानहरु चिन्तित थिए।
मार्चमा फातीका बुवाले जारी सिजनमा आफ्नो छोराले कम समय मैदानमा बिताएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि समेत राखेका थिए। तर जाभीले भने उनी कम समय मैदानमा रहनुमा फातीको आफ्नै कारण रहेको जवाफ दिएका थिए। त्यतिबेला जाभीले भनेका थिए, ‘फातीसँग प्रतिस्पर्धा छ। सायद फेर्रान टोरेस, राफिन्हा, लेवान्डोस्की अली राम्रो भएकाले यो निर्णय लिनु परेको हो। अन्शुले खेलका खेलमा निर्णयक गोल पनि गरेका छन्। तर त्यहाँ कडा प्रतिस्पर्धा छ, र बार्साका लागि खेल्न कडा मेहनत गर्नुपर्छ।’
तर, फातीको अहिलेको समय फेरिएको छ। प्रि–सिजन टुरमा फाती चम्किएका छन्। फातीले बाँया फ्ल्यांकमा बललाई उठाउँदै हानेको प्रहार गोलकिपरको काँध छेउबाट जाली चुमेको थियो। यो त्यस्तो प्रकारको गोल थियो, जसले लियोनल मेसीको झल्को दियो। र, यसले फातीलाई बार्सिलोनाको १० नम्बर जर्सीको हकदार रहेको संकेत गर्दै अगाडि बढ्न थप आत्मविश्वास मिल्ने बताइएको छ।
फातीको प्रदर्शनबाट अध्यक्ष लापोर्टा पनि सन्तुष्ट छन्। लापोर्टाले स्पेनिस पत्रिका मुन्डो डेपोर्टिभसँग कुरा गर्दै जाभीले अर्को सिजन युवालाई मौका दिने योजना बनाएको र त्यसमा फाती पर्ने बताएका छन्। ‘फाती बार्सिलोनामा सफल हुन चाहन्छन्,’ लापोर्टाले भनेका छन्, ‘उनीसँग गोलकर्ताको रुपमा एउटा उपहार छ। जाभीले मलाई प्रशिक्षणमा सबैभन्दा बढी गोल गर्ने लेवान्डोस्की र अन्शु रहेको बताएका छन्।’
1691412941.gif)
फातीले पनि आफू बार्सिलोनामै प्रमाणित हुन चाहेको बताएका छन्। स्टार खेलाडी केलियन एम्बाप्पेलाई बेच्ने दाउमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फातीलाई ताके पनि उनले बार्सिलोना नछाड्ने बताइसकेका छन्। एमबाप्पेको उत्तराधिकारी बनाउने लक्ष्यसहित पीएसजीले फातीलाई ताके पनि फाती भने बार्सिलोनामै बस्न इच्छुक रहेको बताएका छन्।
आइतबार मात्रै पीएसजीले फातीमाथि चासो राखेको रिपोर्ट बार्सिलोनामा पुगेको थियो। बार्सिलोनामा खेल्न पर्याप्त समय नपाएकाले फातीले बार्सिलोना छाड्ने बताइएको थियो। जसकारण पीएसजीबाट आएको उक्त प्रस्तावमा फाती पनि इच्छुक रहनसक्ने बताइएको थियो। तर, २० वर्षीय युवा खेलाडी फातीले भने तत्कालै बार्सिलोना छाडेर पीएसजी जानेबारे नसोचेको बताएका छन्। जसकारण अबको सिजन फातीले डेम्बेलेको स्थान लिनसक्ने विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।