काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमारसँग २ वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी सेप्टेम्बर ८ र ११ (भदौ २२ र २५ गते) म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।
अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। म्यानमार पनि फिफा विश्वकप छनोटको तयारीमा छ।
फिफा वरीयतामा म्यानमार नेपालभन्दा अगाडि रहेको छ। नेपाल १७५औं स्थानमा रहँदा म्यानमार १६०औं स्थानमा ५।
फिफा विश्वकप छनोटको प्रारम्भिक खेल नेपालले लाओससँग खेल्नेछ। होम एण्ड अवेअन्तर्गत नेपालले लाओससँग पहिलो खेल अक्टोबर १२ मा दशरथ रंगशालमा खेल्नेछ। यस्तै, दोस्रो खेल अक्टोबर १७ मा लाओसको मैदानमा हुनेछ।
दोस्रो चरणमा प्रवेश गरेमा नेपालले दोस्रो चरणको समूह ‘एच’मा रहेका युएई, बहराइन तथा यमन र श्रीलंकाको विजेतासँग खेल्नेछ। दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ र जुन २०२४ को बीचमा होम एन्ड अवे ढाँचामा खेलाइने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।