काठमाडौं- नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल- २०२३ मा छनोट भएको छ। नवीन सुब्बाको निर्देशनमा बनेको उक्त चलचित्र सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने टोरन्टो फिल्म फेस्टिभलका लागि छनोट भएको हो।
राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतार चढावलाई नियाल्ने प्रयास गरिएको छ। यो चलचित्र सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो।
भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको चलचित्र गाउँ आएको बाटोमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतको अभिनय रहेको छ।
चलचित्र गाउँ आएको बाटो टोरन्टो फिल्म फेस्टिभलमा छनोट भएपछि निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै कलाकार, व्यवस्थापक, प्राविधिक लगायत चलचित्रमा आवद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।