काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर एमरिक लापोर्ते पनि साउदीको प्रो-लिग क्लबमा जाने भएका छन्। साउदी क्लब अल नासरबाट आएको प्रस्तावलाई सिटीले स्वीकार गर्दै लापोर्तेका एजेन्टसँग थप छलफलका लागि बाटो खुला गरिदिएको छ।
२९ वर्षीय स्पेनिस डिफेन्डर लापोर्तेले सन् २०२१/२२ मा ४३ वटा खेलमा सुरुवाती मैदानमा उत्रिएका थिए। तर गत सिटीले सिजन ट्रिबेल जित्दा भने उनी दोस्रो रोजाइमा मैदानमा उत्रिए। उनको ठाउँमा पेप ग्वार्डिवालाले म्यानुअल अकान्जी र नाथन एकेलाई खेलाएका थिए।
सिटीले ७७ मिलियन पाउण्डका अर्का क्रोएसियन डिफेन्डर जोस्को गार्भाडोलीलाई अनुबन्धन समेत गरेको छ। जसकारण सिटी लापोर्तेलाई बेच्न इच्छुक देखिएको हो।
नासर भएको अवस्थामा लापोर्तेको भेट रोनाल्डो, माने, मार्सेलो ब्रोजोभिच र एलेक्स टेलससँग हुनेछ। लापोर्तेलाई सिटीले सन् २०१८ मा ला–लिगा क्लब एथ्लेटिक बिल्बाओबाट ५७ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो।
उनी आबद्ध भएपछिको पछिल्लो ६ सिजनमा सिटीले ५ वटा प्रिमियर लिग उपाधि जितेको छ।
लापोर्तेले क्लबका लागि कुल १८० खेल खेलेका छन् भने १२ गोल गरेका छन्। राष्ट्रिय टिमबाट २२ क्याप खेलेका छन्। राष्ट्रिय टिमबाट गत जुनमा मात्रै उनले नेसन्स लिगको उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।