काठमाडौं- युरोपका टप लिगमध्ये एक हो, स्पेनिस ला-लिगा। २०२३/२४ को सिजन सुरु भइसकेको छ। अहिलेसम्म सबै टिमले एक खेल खेलिसकेका छन्। रियल मड्रिड र बार्सिलोनाजस्ता सधैँ लिग र च्याम्पियन्स लिगको ट्रफीका दाबेदार मानिँदै आएका छन्। जसले गर्दा विश्वका उत्कृष्ट खेलाडीको रोजाइमा यी क्लब पर्दै आएका छन्।
तर यो सिजनको ला-लिगामा केही नयाँ अनुहार पनि देखिएका छन्। जसले ला-लिगालाई थप रोमाञ्चक बनाएको छ। र, सँगै प्रश्न उठेको छ, अबको यो सिजन कसले उचाल्ला ट्रफी?
सबैभन्दा पहिला डिफेन्डिङ च्याम्पियन बार्सिलोना, यसको चरम प्रतिस्पर्धी तथा रेकर्ड होल्डर (३५ पटक ला-लिगा उपाधि) रियल मड्रिडलाई उपाधि दाबेदार मानिएको छ।
क्याटलान क्लब बार्सिलोना (२७) र मड्रिड (३५) दुवैको टोलीको हिसाब गर्ने हो भने उनीहरूले ६२ पटक ला-लिगा उपाधि उचालेका छन्। बाँकी ७ वटा क्लबले जम्माजम्मी ३० पटक ला-लिगाको उपाधि जितेका छन्। यो सिजन पनि मुख्यगरी यिनै दुई क्लब (बार्सिलोना र रियल मड्रिड) मुख्य दाबेदार बन्न सक्ने देखिन्छ।
समर विन्डोपछि भर्खरै सुरु भएको ला-लिगामा खेलाडी निकै उत्साही देखिन्छन्। खेलकुदको रोमाञ्चक र छुट्टीपछिको खेलमा देखिने जाँगरले नयाँ राेमहर्षक दिएको छ।
पहिलो खेलमै कमजोर मानिएको गेटाफेसँग बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ। सोचेअनुसारको सुखद सुरुवात बार्सिलोनाले गर्न सकेको छैन। बार्सिलोनाको फरवार्ड लाइनको मुख्य हतियार मानिएका उसमान डेम्बेले अहिले पेरिस पुगेका छन्। बार्सिलोनाको आफ्नो बसाई अन्त्य गर्दै उनी पेरिस सेन्ट जर्मेनमा आबद्ध भएका छन्।
उनको ठाउँमा अर्को भरपर्दो खेलाडी बार्सिलोनाले भित्र्याएको छैन। यद्यपि, उनको ठाउँबाट अर्का युवा खेलाडी यामललाई खेलाउने रणनीतिमा प्रशिक्षक जाभी छन्। उनको रणनीति कति सफल हुन्छ भन्ने हेर्न बाँकी नै छ।
गत सिजन प्रमुख प्रतिद्वन्द्वी रियल मड्रिडलाई १० अंकले पछि पार्दै बार्सिलोनाले ट्रफी उचालेको थियो। अब त्यही गति कायम राख्न बार्सिलोनालाई मुस्किल हुने देखिन्छ।
योसँगै मिडफिल्डका मुख्य मियो सर्जियो बुस्केट पनि अहिले बार्सिलोनाबाट अमेरिकाको इन्टर मियामीमा पुगेका छन्। राइट साइडका डिफेन्डर जोर्डी अल्बा पनि बार्सिलोनाबाट बिदा भएका छन्। बुस्केटको ठाउँमा खेलाउन बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट इल्के गुन्डोगनलाई भित्र्याएको छ। अन्य पोजिसनमा भने आफ्नै युवा खेलाडीमा भरपर्ने बार्सिलोनाको रणनीति छ।
यद्यपि, ला-लिगासँगै च्याम्पियन्स लिगको ट्रफी पनि बार्सिलोनाले ताकिरहेको छ। गत वर्ष च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएर युरोपा लिग खेलेको बार्सिलोना त्यहाँ पनि सफल हुन सकेको थिएन। गत सिजन ला-लिगा बाहेक अन्य लिगका क्लबहरूसँग नमिठो हार ब्यहोरेको बार्सिलोनाले रियल मड्रिडमाथि भने हाबी भएको थियो।
फुटबल विज्ञहरू भने बार्सिलोना भन्दा पनि यो पटक रियल मड्रिडलाई नै ला-लिगाको उपाधि दाबेदार मान्छन्। गत सिजन सोचेअनुसार सफलता हात पार्न नसकेको मड्रिडले कोपा डेल रे जित्दै उपाधिको खेडेरी तोडेको थियो। मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिए।
तर यो सिजन रियलका मुख्य खेलाडी करिम बेन्जिमा अहिले साउदी पुगेका छन्। प्रो लिग खेल्न साउदी क्लबमा पुगेपछि उनको अभाव रियलमा खड्किन सकिने आँकलन गरिएको छ।
आफ्ना मुख्य फरवार्डलाई बिदाई गरेका रियलले मिडफिल्डरका युवा स्टार बेलिङ्घमलाई बोरुसिया डर्टमन्डबाट अनुबन्धन गरेको छ। क्लबमा उनले आफ्नो प्रभाव जमाउन सुरु गरेका छन्। ला-लिगाको पहिलो डेब्यु खेलमै गोल गर्दै रियलले जित निकाल्दै ३ अंक जोडेको छ।
रियलमा युवा जोश भएको र भरपर्दा पाका खेलाडीको समेत मिश्रण छ। प्रशिक्षकका लागि विभिन्न विकल्पहरू खुल्ला छन्। जसकारण पनि रियललाई बलियो दाबेदारको रुपमा लिइएको छ।
उपाधिको अर्को दाबेदारको रुपमा एथ्लेटिको मड्रिडलाई लिइएको छ। गत सिजन तेस्रो स्थानमा रहँदै एथ्लेटिको मड्रिडले आफ्नो सिजन टुंग्याएको थियो। बार्सिलोनाबाट एथ्लेटिको मड्रिड फर्किएपछि ग्रिजम्यान उच्च लयमा छन्।
फ्रि ट्रान्सफमा अनुबन्धन भएका एपिलिक्वेटा, स्योन्चुमाथि ठूलो भरोसा राखिएको छ। ला-लिगा मात्रै होइन एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको लक्ष्यसहित मैदान उत्रिएको छ।
चौथो दाबेदार क्लब हो सेभिल्ला। गत सिजन सेभिल्लाका लागि ला-लिगा खराब रह्यो। ला-लिगामा १२ औं स्थानमा रहँदै सेभिल्लाले लिग टुंग्याएको थियो। तर अर्को खुसीको कुरा भने सेभिल्ला गत सिजन युरोपा लिग जित्यो।
युरोपा लिग र च्याम्पियन्स लिगका विजेता बीच हुने सुपर कपमा सेभिल्लाले आफूलाई बिलियो उपस्थित गरायो। भर्खरै सकिएको सुपरमा इंग्लिस क्लब म्यानचेस्सटर सिटीमाथि सेभिल्लाले सुरुवाती अग्रता लिएको थियो। पछि सिटीले गोल फर्काएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ सिटीले बाजी मार्यो। बलियो प्रतिस्पर्धी मानिएको सिटीविरुद्ध आक्रामक खेल्दै सेभिल्लाले अबको सिजन बलियो प्रतिस्पर्धी बन्ने छनक देखाएको छ।
गत सिजन आश्चर्यचकित नतिजा निकाल्दै रियल सोसिडाडले आफूलाई च्याम्पिन्स लिगमा समेत सुरक्षित गराएको छ। सोसिडाडले १३ वर्षपछि यो सिजन च्याम्पियन्स लिग खेल्न लागेको हो। यसमा क्लबले अभूतपूर्व सफलता हात पारेको छ।
बलियो डेफिन्सभ र कमै पाएको अवसरलाई सदुपयोग गर्ने शैलीले सोसिडाडले सफलता पाएको थियो। आफ्नो त्यही लय कायम राख्दै ला-लिगादेखि च्याम्पियन्स लिगसम्म बलियो रुपमा प्रस्तुत हुने लक्ष्यमा सोसिडाड छ।
यी पछि अन्य क्लबहरूको भने उपाधि यात्रामा झिनो आशा रहेको औंल्याइएको छ। अन्य क्लबहरूमा भिल्लारियल, रियल बेटिस, एथ्लेटिक बिल्बाओलाई ला-लिगाको उपाधि जित्न सक्ने विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।