काठमाडौं- स्पेनिस ला-लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले जित निकालेको छ। नेपाल समयअनुसार आइतबार राति भएको खेलमा बार्सिलोनाले काडिजमाथि २-० को जित निकालेको हो। बार्सिलोनाको जितमा युवा मिडफिल्डर पेड्री र फेरान टोरेसले गोल गरे।
खेलको ८२औं मिनेटसम्म गोलरहित बराबरीमा खेल भइरहेको थियो। ८२औं मिनेटमा इल्के गुन्डोगनले दिएको पासमा पेड्रीले गोल गरेपछि बार्सिलोनाले अग्रता बनायो।
खेलको अतिरिक्त समयमा लेवान्डोस्कीको हेड पास बललाई टोरेसले जाली चुमाएपछि बार्सिलोनाले २-० को जित निकाल्यो। यसअघि आफ्नो पहिलो खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको थियो।
आइतबार राति नै भएको ला-लिगाको अर्को खेलमा एथ्लेटिको मड्रिड र रियल बेटिस गोलरहित बराबरीमा रोकिँदै अंक बाँडे।
अर्को खेलमा गिरोनाले गेटाफेलाई ३-० गोल अन्तरले र एथ्लेटिक बिल्बाओले ओसासुनालाई २-० गोल अन्तरले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।