काठमाडौं- यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले दमदार सुरुवात गरेको छ। नेपाली समयअनुसार मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली रोयल एन्टवर्पमाथि ५-० को फराकिलो जित निकाल्यो।
बार्सिलोनाको जितमा जोआओ फेलिक्सले २, रोबर्टो लेवान्डोस्की र गाभीले १/१ गोल गरे। बार्सिलोनाले १ गोल भने सुसाइड गोलमार्फत उपहार स्वरुप पायो।
इल्के गुन्डोगानको पासमा ११औं मिनेटमा फेलिक्स गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। १९औं मिनेटमा फेलिक्सकै पासमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो।
२२औं मिनेटमा राफिन्हाले हानेको प्रहार एन्टवर्पका बटाल्लीलाई लागेर बाउन्स हुँदै आत्मघाती गोल भएपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो।
दोस्रो हाफको ५४औं मिनेटमा लेवान्डोस्कीको पासमा गाभीले गोल गरे। ६६औं मिनेटमा राफिन्हाको पासमा फेरि फेलिक्सले गोल गरेपछि बार्सिलोनाले ५–० को फराकिलो नतिजा निकाल्यो। फराकिलो जितसँगै ३ अंकका साथ बार्सिलोना आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ।
यही समूहको खेलमा पोर्तोले शाख्तर डोनेस्कलाई ३–१ हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।