काठमाडौं– अन्तिम समयको ९ मिनेटमा ३ गोल गर्दै बार्सिलोनाले सानदार पुनरागमन जित निकालेको छ। नेपाली समयानुसार शनिबार राति भएको स्पेनिस ला–लिगाको खेलमा बार्सिलोनाले सेल्टा भिगोमागि ३–२ को जित निकाल्यो।
पाहुना टोली सेल्टाले १९ र ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनाविरुद्ध २–० को अग्रता बनाएको थियो। घरेलु मैदानमै हारको मुखमा पुगेको बार्सिलोनाले भने अन्तिम ९ मिनेटमा ३ गोल गर्दै नाटकीय जित निकाल्यो।
८१ मिनेटसम्म २ गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा फेलिक्सको पासमा लेवान्डोस्कीले गोल गरे। ८५ औं मिनेटमा कान्सेलोको पासमा पुनः लेवान्डोस्कीले गोल गरेपछि खेल बराबरीमा आयो।
८९ औं मिनेटमा गाभीको पासमा कान्सेलाले गोल गरेपछि बार्सिलोनाले खेल ३–२ ले जित्यो। जितसँगै ६ खेलबाट १६ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ।
समान खेल र अंकसहित गोल अन्तरका आधारमा गिरोना दोस्रो स्थानमा छ। १ खेल कम खेलेको रियल मड्रिड १५ अंकसहित तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।