काठमाडौं– चीनको हाङ्जाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ।
चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेल १-१ को बराबरीमा सकिएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले खेलको ८२ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरेको थियो।
बंगलादेशका लागि पहिलो हाफको ४३ औं मिनेटमा सविना खातुनले गोल गरेकी थिइन्। दोस्रो हाफको ८२ औं मिनेटमा नेपालकी रेखा पौडेलले हेडिङमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन्।
सावित्रा भण्डारीले दिएको पासलाई रेखाले हेडिङबाट रेखाले गोल गरेकी हुन्। दक्षिण एसियाली देश नेपाल र बंगलादेशले यसअघिका दुवै खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाका लडाइँ मात्रै थियो।
समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो। बंगलादेशको पनि पहिलो खेलमा जापानसँग ८–० हार र भियतनामसँग ६–१ ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।