काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा लगातार दुई खेलमा हार ब्यहोरेको छ। मंगलबार राति भएको च्याम्पियन्स लिगको दोस्रो खेलमा युनाइटेड घरेलुमै मैदानमै पराजित भयो।
पाहुना टोली गालाटासारेले युनाइटेडमाथि ३–२ को रोमान्चक जित निकाल्यो। खेलको १७औं मिनेटमा रास्फोर्डको पासमा होजलुंडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। २३औं मिनेटमा सान्चेजको पासमा जाहाले गोल गरेपछि खेल बराबरीमा आएको थियो।
दोस्रो हाफमा पुनः होजलुंडले गोल गरेपछि युनाइटेडले पुनः २–१ को अग्रता बनाएको थियो। तर त्यो अग्रता धेरैबेर टिकेन। ७१औं मिनेटमा अक्तुर्कोग्लुले गोल गरेपछि खेल फेरि बराबरीमा आएको थियो।
७७औं मिनेटमा युनाइटेडका मिडफिल्डर कासेमिरो दोहोरो पहँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै ८१औं मिनेटमा इकार्डीले गोल गरेपछि गालाटासारेले खेल ३–२ ले अन्तरले जित्यो।
त्यो भन्दा अगाडि ७८औं मिनेटमा इकार्डीले पेनाल्टी मिस गरेका थिए। जितसँगै गालाटासारे दुई खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा छ। दुई खेलमा दुवैमा हार ब्यहोरेको युनाइटेड अंकविहीन हुँदै समूह एको पुछारमा छ। दुईमा खेदमा २ जित निकाल्दै बायर्न म्युनिख ६ अंकका साथ शीर्ष स्थानमा छ।
मंगलबार राति नै भएको यही समूहको अर्को खेलमा बायर्न म्युनिखले एफसी कोपनहेगनलाई २–१ गोलले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।