काठमाडौं- युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले लगातार दोस्रो जित निकालेको छ। नेपाली समयअनुसार मंगलबार राति पौन १ बजे भएको खेलमा इटालियन क्लब नापोलीलाई ३–२ ले हराउँदै रियलले दोस्रो जित निकालेको हो।
खेलको १९औं मिनेटमा घरेलु टोली नापोलीले अग्रता बनाएको थियो। १९औं मिनेटमा ओस्टिगार्डले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए।
२७औं मिनेटमा बेलिङ्घमको पासमा भिनिसियर जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि कामाभिंगाको पासमा ३४औं मिनेटमा बेलिङ्घमले गोल गरेपछि रियल मड्रिडले पहिलो हाफमा २–१ को अग्रता बनायो।
दोस्रो हाफको ५४औं मिनेटमा जेलेन्सिकीले गोल गरेपछि खेल पुन २–२ को बराबरीमा आएको थियो। तर गोलरक्षकको ठूलो गल्तीले नापोलीले हार ब्यहोर्यो। ७८औं मिनेटमा गोलरक्षक मेरिटले आफ्नै पोस्टमा गोल गरेपछि रियल मड्रिडले ३–२ को जित निकाल्यो। यही समूह ‘सी’ को अर्को खेलमा ब्रागाले युनयिन बर्लिनलाई ३–२ गोलले हरायो।
लगातार दोस्रो जित निकाल्दै ६ अंकका साथ रियल मड्रिड समूह ‘सी’ को शीर्ष स्थानमा छ। समान ३ अंकसहित नापोली दोस्रो र ब्रागा तेस्रो स्थानमा छन्। युनियन बर्लिन अंकविहीन हुँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।