काठमाडौं– युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनामाले संघर्षपूर्ण जित निकालेको छ। नेपाली समयानुसार बुधबार राति भएको खेलमा बार्सिलोनाले पोर्चुगिज क्लब पोर्तोमाथि १–० को साँघुरो जित निकाल्यो।
बार्सिलोनाको जितमा एक मात्र गोल फेरान टोरेसले गरे। बार्सिलोनाका मुख्य फरवार्ड लेवान्डोस्की खेलको ३५औं मिनेटमा घाइते भएपछि उनको ठाउँमा मैदान प्रवेश गरेका टोरेसले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे।
इल्के गुन्डोगानको पासमा उत्कृष्ट फिनिसिङ गर्दै जाली चुमाएका टोरेसको गोलमा बार्सिलोना विजयी भयो। पहिलो हाफ पोर्तोमाथि बार्सिलोना हाभी भए पनि दोस्रो हाफ भने पोर्तोका खेलाडीले बार्सिलोनाका डिफेन्डर र गोलरक्षकलाई व्यस्त बनाइराखे।
तर बार्सिलोनाले १–० को अग्रता जोगाउँदै नतिजा आफ्ना पक्षमा पार्यो। जितसँगै समूह ‘एच’ बाट २ खेलमध्यै दुवैमा जित निकाल्दै बार्सिलोना ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। ३ अंकसहित पोर्तो दोस्रो स्थानमा छ।
खेल सकिन केही मिनेट बाँकी रहँदा दोहोरो पहेँलो कार्ड पाएपछि रातो कार्ड खाँदै बार्सिलोनाका मिडफिल्डर गाभी मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।
बार्सिलोना पक्षलाई रेफ्रीले ८ वटा पहेँलो कार्ड देखाएका थिए। जसमा प्रशिक्षक जाभीसहित गाभीले २ पहेँलो र अन्य ५ खेलाडीले पहेँलो कार्ड खाएका थिए। पोर्तोले भने जम्मा एउटा मात्रै पहेँलो कार्ड खाएको थियो।
यही समूह ‘एच’ कै अर्को खेलमा शाख्तर डोनेस्ट्कले रोयल एन्टवर्पमाथि ३–२ को जित निकाल्यो। यो जितसँगै डोनेस्ट्क ३ अंकसहति समूह ‘एच’ को तेस्रो स्थानमा उक्लिएको छ। एन्टवर्प भने अंकविहीन रहँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।