काठमाडौं– सब्सिच्युट (वैकल्पिक) खेलाडीको रुपमा ८०औं मिनेटमा मैदान छिरेका जुलियन अल्भारेज चम्किएपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा जित निकालेको छ। नेपाली समयानुसार बुधबार राति भएको खेलमा इंग्लिस क्लब सिटीले आरबी लेइपजिगलाई ३–१ गोल अन्तरले हरायो।
खेल अन्त्यतिर पुग्दा ८० मिनेटसम्म सिटी १–१ को बराबरीमा थियो। त्यसपछि प्रशिक्षक पेप ग्वार्डिवालाले फिल फोडनलाई निकाल्दै उनको ठाउँमा अल्भारेजलाई मैदान छिराएका थिए। प्रशिक्षक ग्वार्डिवालाको रणनीति सफल सावित भयो। ८०औं मिनेटमा मैदान छिरेका अल्भारेजले ८४औं मिनेटमा डोकुको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए।
निर्धारित समयपछिको अतिरिक्त समयमा उनै अल्भारेजको पासमा डोकुले गोल गरेपछि सिटीले लेइपजिगमाथि ३–१ को जित निकाल्यो।
यसअघि २५औं मिनेटमा फोडेनले गोल गर्दै पाहुना टोली सिटीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ४८ औं मिनेटमा ओपेन्डाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
जितसँगै सिटी २ खेलबाट ६ अंक जोड्दै समूह ‘जी’ को शीर्ष स्थानमा छ। लेइपजिग ३ अंकका साथ दोस्रो स्थानमा छ। समूह ‘जी’ कै अर्को खेलमा योङ ब्याईज र रेड स्टार बेलग्रेडले २–२ को बराबरी खेल्दै अंक बाँडे। समान १ अंकका साथ योङ ब्वाईज समूह ‘जी’ तेस्रो र बेलग्रेड चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।