काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन्। व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी उनी त्यहाँ द्वन्द्व बढेपछि स्वदेश फर्किएकी हुन्।
उनी बुधबार राति नेपाल आइपुगेकी हुन्। मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेकी हुन्।
साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छन्। गत साताको खेलमा सम्बाकै गोलबाट उनको टोली हारबाट जोगिएको थियो।
चीनको हाङझाउमा भएको एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन्।
साम्बा सम्मलित हापोयल रानाना लिगका ४ खेल खेलेको छ। जसमध्ये एउटामा जित, २ मा बराबरी र एउटा खेलमा हार बेहोरेको छ।
युइएफएले इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै २ साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गरिएका जनाएको छ।
प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार बिहान आक्रमण गरेपछि इजरायल अहिले द्वन्द्वमा छ। हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।