काठमाडौं- अक्टोबर ९ मा ला-लिगाको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले ग्रानाडासँग प्रतिस्पर्धा गर्दै थियो। प्रशिक्षक जाभी हर्नान्डेजले १६ वर्षीय किशोर खेलाडी लामिने यामलमाथि विश्वास राख्दै सुरुवाती रुपमै मैदानमा उतारे। यामल आफ्नो पोजिसन राइट विंगरको रुपमा मैदानमा उत्रिए।
खेलको पहिलो मिनेटमै ग्रानाडाले गोल गर्दै बार्सिलोनालाई दबाब दियो। लगत्तै ग्रानाडाले २९ मिनेटमा अग्रता दोब्बर बनायो। २-० ले पछि परेको बार्सिलोनालाई पहिलो हाफको अतिरिक्त समयमा यामलले गोल गर्दै अग्रता छोट्याए। अन्ततः खेल बार्सिलोनाले बराबरीमा सक्कायो।
ग्रानाडा विरुद्ध गोल गर्दा यामल जम्माजम्मी १६ वर्ष ८७ दिनका थिए। ला-लिगाको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड यामलले आफ्नो नाममा राखे।
यसअघि ला-लिगामा यो कीर्तिमान मालागाबाट सन् २०१२ मा फाब्रिस ओलिंगाले गरेका थिए। उनले १६ वर्ष ९८ दिनमा गोल गर्दै कीर्तिमान बनाएका थिए। ला-लिगामा बार्सिलोनाका तर्फबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडी अंशु फातीको नाममा रहेको रेकर्ड पनि यामलले तोडे।
यो मात्रै होइन, लेफ्ट फुटेड, राइट विंगर यामलको नाममा अन्य रेकर्डहरु पनि बनेका छन्। विपक्षीलाई कलात्मक तरिकाले छक्काउँदै बल अघि बढाउन माहिर यामलले यसअघि बार्सिलोनाको सिनियर टिमबाट खेल्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान पनि बनाएका थिए।

सन् २०२३ अप्रिलमा रियल बेटिस विरुद्ध मैदान उत्रिँदै यामलले कीर्तिमान बनाएका थिए। त्यतिबेला उनी जम्माजम्मी १५ वर्ष २९० दिनका मात्रै थिए। उनले ८४ मिनेटमा गाभीलाई प्रतिस्थापन गर्दै मैदान छिरेका थिए। उक्त खेल बार्सिलोनाले ४-०ले जितेको थियो। त्यसको एक महिनापछि बार्सिलोनाले ला-लिगाको ट्रफी उचालेको थियो।
१५ वर्ष २९० दिनको उमेरमा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका यामल ला-लिगा खेल्ने पाँचौं कान्छा खेलाडी हुन्। ला-लिगा खेल्ने सबैभन्दा कान्छो खेलाडी भने मालोर्काका लुका रोमेरो हुन्। उनले १५ वर्ष २१९ दिनको उमेरमा सन् २०२० मा रियल म्याड्रिड विरुद्ध खेल्दै सबैभन्दा कान्छो खेलाडीको इतिहास बनाएका थिए।
सिजन २०२३/२४ मा भिल्लारियल विरुद्ध सुरुवाती क्रममै मैदानमा उत्रिएका यामलले लेवान्डोस्की र गाभीलाई असिस्ट प्रदान गरेका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ४-३ को जित निकालेको थियो। त्यतिबेला उनी जम्माजम्मी १६ वर्ष १५ दिनका थिए। ला-लिगामा असिस्ट प्रदान गर्ने कान्छो खेलाडीको रेकर्ड पनि यामलले आफ्नो नाममा राखे। उक्त खेलको म्यान अफ दि म्याच समेत यामल भएका थिए।
खेलपछिको पत्रकार सम्मलेनमा प्रशिक्षक जाभीले यामलको प्रशंसामा शब्द खर्चेका थिए। ‘यामलसँग असाधारण क्षमता छ। उसले हामी सबैलाई आश्चर्यचकित पारेको छ। उसको प्रदर्शनबाट हामी धेरै खुसी छौं। १६ वर्षको किशोरबाट यो किसिमको प्रदर्शन हुनुले उनीसँग एक युगको प्रतिनिधित्व गर्न सक्ने क्षमता रहेको पुष्टि गर्छ,’ जाभीले भनेका थिए।
ला-लिगामा रेकर्ड राख्दै उत्कृष्ट प्रदर्शन गरेका यामलले सिनियर राष्ट्रिय टोली र च्याम्यिन्स लिगमा समेत कीर्तिमान र प्रभाव दुवै राखेका छन्।
उनले स्पेनको राष्ट्रिय टिमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड पनि आफ्नो नाममा लेखाएका छन्। अक्टोबर ५ मा च्याम्पियन्स लिगको खेल अन्तर्गत पोर्चुगिज क्लब पार्तो विरुद्ध सुरुवाती क्रममै मैदानमा उत्रिएले अर्को रेकर्ड यामलले आफ्नो नाममा राखेका थिए।
उनी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमरेका सुरुवाती रुपमै मैदान उत्रिने खेलाडी बनेका थिए। पोर्तो विरुद्ध सुरुवाती रुपमै मैदानमा उत्रिँदा उनी जम्मा १६ वर्ष ८३ दिनका थिए। उक्त खेल बार्सिलोनाले १-० ले जितेको थियो।
यसभन्दा अघि यो रकेर्ड सेलेस्टाइन बाबारोको नाममा थियो। उनी १६ वर्ष ८६ दिनको उमेरमा च्याम्पियन्स लिगमा सुरुवाती ११ मै मैदान उत्रिएका थिए।

बार्सिलोनाको जर्सीमा चम्किएका यामलको प्रदर्शनकै कारण उनलाई स्पेनको राष्ट्रिय टोलीका प्रशिक्षकले सिनियर राष्ट्रिय टोलीमा डाके। १६ वर्ष ५७ दिनको उमेरमा सिनियर राष्ट्रिय टिमबाट डेब्यु गर्दै यामलले अर्को रेकर्ड आफ्नो नाममा राखे। यसअघि यो रेकर्ड बार्सिलोनाकै गाभीको नाममा थियो।
राष्ट्रिय टिममा डेब्यु मात्रै होइन, स्पेनका लागि सबैभन्दा कान्छो उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड पनि यामलले आफ्नो नाममा राखेका छन्। युरोकप छनोट अन्तर्गत सेप्टेम्बर ८ मा जर्जिया विरुद्ध गोल गर्दै स्पेनको सिनियर टिममा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। उक्त खेल स्पेनले ७-१ गोलले जितेको थियो।
रेकर्ड नै रेकर्डले भरिएका यामल अहिले एउटा सरप्राइज प्याकेज बन्ने लाइनमा छन्। आफूले खेलेका हरेक खेलमा उनले प्रभाव जमाउँदै आएका छन्।
यामलको पूरा नाम लामिने यामल नसराउई इबाना हो। सन् २००७ को १३ जुलाईमा स्पेनमा जन्मिएका यामलले सन् २०१२ देखि बार्सिलोनाको युथ टिमबाट खेलेका थिए। ५ वर्षको हुँदा उनी बार्सिलोनाको एकेडेमीमा पुगेका थिए।
स्पेनको राष्ट्रिय टिमबाट खेलेका यामलका बाबुआमा भने स्पेनिस होइनन्। उनको बाबु मोरोक्को हुन् भने आमा इक्वेटोरियन गुएनाका हुन्। जसका कारण यामल स्पेनको राष्ट्रिय टिमबाट नभई यी दुई देशमध्ये कुनै एकबाट खेल्ने सम्भावना पनि थियो। तर २०२३ सेप्टेम्बरमा स्पेनको सिनियर राष्ट्रिय टिममा यामल समावेश भइसकेपछि अब त्यो सम्भावना टरेको छ। यामलले यसअघि स्पेनको स्पेनको यू-१५ देखि यू-१९ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्।

यिनै प्रतिभावान किशोर खेलाडी यामलमाथि बार्सिलोनाले अहिले धेरै आशा राखेको छ। बार्सिलोनाबाट मेसीको बहिर्गमनपछि उक्त स्थान लिन सक्ने खेलाडीको खोजीमा अहिले पनि बार्सिलोना छ। मेसीको स्थान लिन सक्ने यसअघि फातीमाथि धेरै भरोसा राखिएको थियो। तर लामो समय चोटग्रस्त भएर मैदानबाट बाहिरिपछि फातीले आफ्नो पुरानो लय देखाउन सकेनन्।
टिममा पहिलो रोजाइमा पर्न छाडेपछि फाती लोनमा इंग्लिस क्लब ब्राइटनमा पुगेका छन्। मेसीको पूर्ति कुनै खेलाडीबाट पनि असम्भव जस्तै भए पनि त्यसको केही हिस्सा भने यामलले लिन सक्ने आशा बार्सिलोनाले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।