काठमाडौं –आज (शुक्रबार) प्रतिनिधि सभा अन्तर्गत चारवटा र राष्ट्रिय सभाका दुईवटा संसदीय समितिका बैठक बस्दैछन । जस अन्तर्गत ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने बताइएको छ ।
यस्तै साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानहरूका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गर्ने कार्यसूची छ । बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको ६४ औं बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची छ ।
११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफलको कार्यसूची छ ।
यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझाव तथा विविध विषमा छलफल हुने समितिले बताएको छ ।
मध्याह्न साढे १२ बजे बस्ने राष्ट्रिय सभाकै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन, २०८१ उपसमितिबाट समितिसमक्ष पेश र छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।