काठमाडौं – नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले संसदलाई नजरअन्दाज गरेर अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।
मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले तत्कालीक आवश्यकताको परिपूर्तिका लागि अध्यादेश ल्याउने गरे पनि संसद शुरु हुनु भन्दा केही दिनमात्रै अगाडि अध्यादेश ल्याउनुले संसदलाई नजरअन्दाज गरेको महसुस हुने बताए।
उनले आर्थिक विकास र सुशासनका लागि अध्यादेश ल्याउने कुरा सरकारका माथिल्लो तहका व्यक्तिहरूले भन्ने गरेको भन्दै आपत्ति जनाउनु भयो। यो अभिव्यक्ति जिम्मेवारी अनुकुलको नभएको उहाँको दाबी छ। संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? भन्दै प्रश्न गरे। संसदबाट कानून बनाउँदा आर्थिक विकास र सुशासन नहुने र अध्यादेशबाट मात्रै प्रगति हुनसक्ने कुरा सम्भव नरहेको बताए। प्रजातन्त्रमा संसदलाई बाइपास गरेर, संसदलाई नजरअन्दाज गरेर, संसदलाई अवमूल्यन गरेर कुनै पनि शासन अगाडि बढ्न नसक्ने जिकिर गरे।
सांसद साउदले सामाजिक सञ्जालका नाममा जसले जे लेखे पनि हुने, जे गरेपनि हुने प्रवृत्ति आउनु दुःखद भएको बताए। सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको तर नियमन गर्दा सामाजिक सञ्जालको कार्यालय राखेर नियमन शुरु गर्नुपर्ने बताए। समाजको अभिव्यक्तिको स्वतन्त्रतालाई बन्देज लगाउनु नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।