एजेन्सी– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा बुधबार ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गरेकी छन्।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहल गरिरहेकी छन् ।
सो फोन वार्ताका क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका थिए।
मन्त्री राणाले सामाजिक सञ्जालमार्फत् यसबीच ओडिसा सरकारका अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको जनाएकी छन् । राणाले भारतीय मन्त्री सुरजसँग संवाद गरी दोषीलाई कडा कारबाही तथा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित पठनपाठनको वातावरण बनाउन आग्रह गरेकी छन् ।
साथै, उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको जानकारी आफूलाई दिइएको बताएकी छन् ।
‘यस्तै कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि मन्त्री सुरजले दिनुभएको छ,’ राणाले भनेकी छन्, ‘कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।