झापा– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा राजतन्त्र फर्किने सम्भावना आफूले नदेखेको बताएका छन् । राजा फर्काउने बहसलाई भने स्वाभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ ।
आज बिर्तामोडमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला प्रकट भएका थिए । सुरुमै उनलाई राजतन्त्र फेरि फर्केला त भनेर सोधियो ।
जवाफमा कोइरालाले नरम जवाफ दिए । उनले आफूले ज्ञानेन्द्र शाहलाई पूर्वराजा नभनेर राजा नै भन्ने बताए ।
‘पूर्व भनौं कि राजा भनौं, पूर्वै हो, तर म राजा भन्छु’, उनले भने, ‘इन्टरनेसनलमा पनि चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई अमेरिकामा जानुभयो भने राष्ट्रपति नै भनिन्छ, जिमी कार्टर नेपाल आउँदाखेरि हामीले मिस्टर प्रेसिडेन्ट भनेर नै एड्रेस गरेका थियौं ।’
आफूले ‘राजा’ भन्दा अन्यथा अर्थ नलगाउन कोइरालाले आग्रह गरे ।
राजा फर्कने सम्भावनाका विषयमा उनले भने, ‘हरेक देशमा यो बहस चलिराख्या हुन्छ । फ्रान्स जानुभयो भने पेरिसको चियापसलमा राजा फर्काउनुपर्छ भन्ने गफ भइराख्या हुन्छ । सयौं वर्ष भइसक्यो राजा गएको, तर फर्काउने बहस भइरहेको हुन्छ ।
हामीले कसरी लिएका छौं भन्ने हो । खाली राजाको बारेमा कुरा गरेर हुँदैन । हामीले पिपुललाई कत्तिको खुशी पार्न सक्या छौं, गणतन्त्रले केही आशा-भरोसा दिलाउन सक्यो कि सकेन भन्ने कुरा इम्पोर्टेन्ट हो ।
मलाई लाग्दैन राजा फर्किन्छन् । माईखोलामा यो १०-१५ वर्षमा धेरै पानी बगिसक्यो । मलाई विश्वास छैन, तर कोसिस मान्छेले गरिराख्या हुन्छ । हामीले उनीहरुलाई एट्याक गर्ने भन्दा पनि राम्रो काम गर्ने हो ।’
कोइरालालाई दुर्गा प्रसाईंका अराजक अभिव्यक्ति र गतिविधिबारे पनि सोधिएको थियो । कोइरालाले यसमा पनि कडा जवाफ दिएनन् ।
उनले भने, ‘दुर्गा प्रसाईंको व्यक्तिगत कुरामा म जान चाहन्न । यहाँ मन्त्री र प्रधानमन्त्री नै के के बोलिरहनुभएको छ, तपाईंहरु दुर्गा प्रसाईं, राजा र ज्ञानेन्द्र शाहीलाई मात्र देख्नुहुन्छ । हामीले राम्रो काम गर्नुपर्यो नि त ! हामी कमजोर भएर कामै गर्न नसकेको हो कि भन्ने चिन्ता भएको छ । मान्छे किन सडकमा उत्रिराख्या छन् ? अस्तिसम्म मान्छे सडकमा उत्रिँदैन थिए । किन मोटरसाइकल ¥याली भयो ? हाम्रो कमजोरी हो कि ? उनीहरुलाई समात्ने काम गर्नुहुँदैन । इग्नोर गर्नुस् । जनतालाई राम्रो काम गर्नुस् भइहाल्यो नि !’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।