काठमाडौँ - शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै शिक्षकहरु प्रदर्शनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघले शनिबार काठमाडौंमा प्रर्दशन गरेको हो । माइतीघरदेखि ठूलो संख्यामा शिक्षकहरू बानेश्वर पुगेका थिए । अहिले बानेश्वरमै सभा जारी छ । शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । विगतमा सरकारसँग भएका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई दबाब दिन प्रदर्शन गर्न बाध्य भएको उनको भनाइ छ ।
यसअघि नै महासंघले आन्दोलनको घोषणा गरेको थियो । महासंघले आन्दोलनको पहिलो चरणमा पालिका, जिल्ला र प्रदेश तहमा ध्यानाकर्षणपत्र बुझाउँदै विरोधसभा गरेको थियो । काठमाडौंको प्रदर्शनपछि राजनीतिक दलका पार्टी कार्यालयमा दबाबपूर्ण धर्ना दिने महासंघले जनाएको छ ।
संविधान संशोधन गरेर भए पनि शिक्षकसँग भएका विगतका सम्झौता र माग पूरा हुनुपर्ने सुवेदीले बताए । विद्यालय शिक्षा विधेयक १८ महिनादेखि प्रतिनिधिसभा अर्न्तगत शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा विचराधीन छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।