फाइल तस्विर काठमाडौँ– चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गर्न लागिएको वृहत् विरोधसभालाई सफल बनाउन नेकपा एकीकृत समाजवादीले आन्तरिक तयारी गरेको छ।
त्यसका लागि एकीकृत समाजवादीले दिउँसो २ बजे केन्द्रीय कार्यालय आलोकनगरमा काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ।
बैठकमा पार्टीले सुशासन, रोजगारीलगायत विषयलाई केन्द्रित गरी देशभर शुरु गरिएको समाजवादी अभियानबारे मातहत कमिटीलाई सङ्गठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ।
चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठक बोलाएको छ।
चैत ६ गते दिउँसो १ बजे उपत्यकाका तीनै जिल्ला समितिको संयुक्त बैठक बोलाएको छ। चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा सङ्गठन, ८ गते दिउँसो ३ बजे उपत्यका प्रदेश र चैत ९ गते सम्पर्क प्रदेशको बैठक दिउँसो ३ बजे बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी गराएका छन्।
फागुन २७ गते बसेको समाजवादी मोर्चाले प्रतिगामी राजवादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै चुनौती दिन काठमाडौँमा विरोधसभा गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।