कास्की– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित ७ जनाविरुद्धको पेसी स्थगित भएको छ ।
जिल्ला अदालत कास्कीको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा दर्ता गरेको निवेदन र त्यससँग सम्बन्धित अन्य निवेदनको पेसी बिहीबारका लागि तोकिएको थियो ।
सरकारी वकिलको कार्यालयको निवेदनविरुद्ध सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका प्रतिवादी रामबहादुर खनालले पनि उच्चमा निवेदन दिएका थिए । खनालका कानुन व्यवसायीले बिहीबारको पेसी स्थगित गरेपछि त्यससँग सम्बन्धित सबै निवेदनको पेसी पनि स्थगित भएको उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए । ‘एउटै मुद्दा भएकाले एक जनाले निवेदन दिएपछि त्यसैका कारण अरु मुद्दा पनि रोकिएको हो,’ उनले भने ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसले गत पुस २५ मा रविसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ, आरती गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
उक्त निर्णयविरुद्ध सरकारी पक्षले थुनामै राखेर पुर्पक्ष हुनुपर्ने मागसहित उच्च अदालत पोखरामा निवेदन दियो । सरकारी पक्षको निवेदनविरुद्ध प्रतिवादीले पनि निवेदन दर्ता गराए । त्यसैले यसमा दुवै पक्षको निवेदनलाई उच्च अदालतले एकैठाउँमा राखेर फैसला सुनाउनेछ ।
यो निवेदनमा उच्च अदालत पोखराले जिल्लाबाट रिहा भएका प्रतिवादीलाई थुनामा पठाउने, रिहा गर्ने जिल्लाकै फैसला सदर गर्ने वा धरौटी नलिई साधारण तारेखमा छोड्नेमध्ये एउटा फैसला गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।