काठमाडौं – नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज (शनिबार) पनि जारी राख्ने भएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली सँग भएको भेटमा सकारात्मक कुरा नभएपछि आन्दोलन जारी राख्ने निर्णय महासंघले गरेको हो ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार राति प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भेटवार्ता भएको उल्लेख गर्दै समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चामा डटिरहनु पर्ने अवस्था रहेको खेलेका छन् ।
महासङ्घको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर गरेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पार्ने काम भएको अध्यक्ष सुवेदीले बताएका छन् ।
उक्त भेटमा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको उनको भनाइ छ ।
अध्यक्ष सुवेदीले आजको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँगको भेटमा भएका सबै कुरा सार्वजनिक गर्ने उल्लेख गर्दै मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिरहने सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले ठिक १२ बजे सबै शिक्षकहरुलाई माइतिघर मण्डलामा आउन अपिल समेत गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।