काठमाडौं – नेकपा एमालेका सांसद ठाकुर गैरेले आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिको भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै सांसद ठाकुर गैरेले शिक्षकजस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएका हुन्।
‘शिक्षकहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई अस्त्र बनाइएको छ,’ सांसद गैरेले भने, ‘आन्दोलनलाई सत्ता ढाल्ने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने विषय बन्द हुनुपर्छ।’
आन्दोलनरत पक्षलाई उकास्ने काम बन्द गरेमात्रै प्रतिपक्षी दलहरूले सोमबार दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्य हुने सांसद गैरेले बताए।
छलफलमा एउटा कुरा गर्ने र आन्दोलन स्थलमा गएर अर्को कुरा गर्ने विषयले समस्याको समाधान गर्न नसक्ने उनले बताए।
उनले शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि अमिलो अनुहार लगाउने गरेको बताएका हुन् ।
उनले भने, ‘हामीले देखिरहेका छौँ। शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित भएर फर्किएको समाचारहरू आउँछन्। तर बाहिर आउनुहुन्छ अनुहार फेरि अरअरो हुन्छ नमिठो अनुहार लाउनुहुन्छ। सत्तारुढ दलको नेता र मन्त्रीहरूको बैठकमा पनि शिक्षक साथीहरू खुसी भएर फर्किएको देखिन्छ। जब बाहिर आउनुहुन्छ समस्या जहाँको त्यही हुन्छ।’
शिक्षक आन्दोलनलाई विपक्षी दलहरूले सरकार ढाल्ने अस्त्र बनाएको आरोप लगाएका छन्।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।