कुस्मा–राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ।
जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो।
झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहितका नेता घाइते भएका छन्। पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।
एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो। केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए।
एक पक्षले पार्टी पदाधिकारीमाथि हातपात गर्न थालेपछि झडपको स्थिति भएको अर्को पक्षको दाबी छ। युवा संघका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली अधिवेशन नगर्ने पक्षमा थिए। तर, एमाले पर्वतको पहलमा बोलाइएको अधिवेशनमा झडप हुँदा पौडेल घाइते भएका हुन्। एमाले पर्वतका अध्यक्ष गोविन्द गिरीले आफुलाई आक्रमण हुँदा असमझदारी भएको दाबी गरे।
केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज पर्वत भण्डारीले अधिवेशन नभइ विस्तारित भेला भएको बताए। ‘अधिवेशन होइन, विस्तारित भेला हो। केही साथीहरुको सामान्य असमझदारी सिर्जना भएपछि आयोजक कमिटि बनाऔं भनेर भेला बेलाएका हौं,’ उनले भने, ‘केही भएको छैन। साथीहरुको सामान्य असमझदारी भएको हो।’
चैत १५ भित्र अधिवेशन गर्न नसकेको शाखाहरुमा जिल्ला अध्यक्ष स्वत संयोजक हुने र अधिवेशन गर्ने गरी केन्द्रबाटै निर्णय भएको भण्डारीले दाबी गरेका छन्।
आयोजक कमिटी बनाउने योजनासहित कार्यक्रम भइरहेको भए पनि युवा संघ जिल्ला अध्यक्ष विनोद थापाले बहिस्कार नै गरेका छन्। भण्डारीले जिल्ला अध्यक्ष थापा सम्पर्कमा नै नरहेको बताए।
एउटा समूहको विरोधकाबीच कार्यक्रम भने अहिले भइरहेको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए। एउटा समूहले भने विधि मिचेर अधिवेशन डाकिएको र आफूहरूमाथि सुनियोजित रुपमा हमला गरिएको बताएका छन्।
पर्वतबाट निर्वाचित प्रदेश सभा सदस्य भक्त कुँवरले एउटा समूहको असहमतिकाबीच कार्यक्रम राखिएपछि आक्रमण नै हुनेगरी विवाद उत्पन्न भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।