काठमाडौं– पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले गत जेठमा आयोजना गरेको ‘खप्तड काव्य–यात्रा २०७५’ मा सहभागी यात्रीले लेखेका अनुभवको सँगालो खप्तड काव्य यात्रा प्रकाशन भएको छ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भएको उक्त यात्रामा २७ जना सहभागी थिए। काव्ययात्रीले सञ्चारमाध्यममा लेखेका लेख सँगालेर पुस्तक बनाएको कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिए।
पुस्तकमा सुदूरपश्चिमको पर्यटन विकासमा योगदान दिएका गोपी हमाल, अमरबहादुर शाही र कृष्णबहादुर महराको छोटकरीमा चिनारी दिइएको छ। त्यसमा काव्य यात्राका संयोजक अमृत भादगाउँलेले ‘खप्तड राष्ट्रिय निकुञ्ज’ शीर्षकमा खप्तड क्षेत्रको चिनारी दिएका छन्।
पुस्तकमा त्रिवेणीधाम, सहस्रलिङ्ग, केदारढुंगा, खप्तडताल, खप्तडबाबा आश्रम, साइक्लिङ, ट्राभल टिप्स र खप्तड काव्य सम्मानबारे पनि चर्चा गरिएको छ।
यात्रामा कन्सेप्ट नेपालले तीन जना भुइँमान्छेहरू कलाकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई १०–१० हजार रुपैयाँसहित सम्मान गरेको थियो।
पुस्तकमा व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, गनेस पौडेल, तारानाथ पहारी, दीपेन्द्रसिंह थापा, घनश्याम खड्का, चन्द्र काफ्ले, आरके अदिप्त गिरी, उदय अधिकारी, देवेन्द्र बस्न्यात, सुरेन्द्र राना, हेमन यात्री, हेमन्त विवश, अमृत भादगाउँले र टोपेन्द्र शाहले अनुभव लेखेका छन्। यसमा दमौलीका गीतकार सागर उदासका मुक्तक र हेटौंडाका कवि निमेष निखिलका कविता पनि छन्।
काव्य यात्राकै अबसरमा खप्तडको साइक्लिङ पर्यटन सम्भावना समेत उजागर गरिएको थियो। प्रख्यात साइक्लिष्टहरु देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदीप पौडेल र गोपाल श्रेष्ठले त्यसको अध्ययन गरेका थिए। पुस्तकमा उनीहरूका अनुभव पनि छन्।
पुस्तकको मुल्य २२५ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।