भरतपुर– गजल मञ्च चितवनको सातौँ अधिवेशनबाट गजलकार द्वारिका नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। आगामी दुईवर्षे कार्यकालको लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
संस्थाको शनिबार सम्पन्न १३औँ वार्षिकोत्सव, आठौँ साधारणसभा सातौँ अधिवेशनबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा लेखराम सापकोटा, सचिवमा रामकृष्ण अनायास, सहसचिवमा सरोज पाठक ‘सुमन’, कोषाध्यक्षमा कमल अर्याल निर्विरोध चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा भने अम्बिका कार्की, निर्दोश जीवन र सरगम पारुलाई चयन गरिएको छ। एकजना सदस्य भने अध्यक्षले पछि मनोनित गर्ने बताइएको छ।
‘आँगन’लाई ‘रमादेवी–हीरालाल स्मृति पुरस्कार’
गजलकार नमिता बरालद्वारा लिखित गजलसंग्रह ‘आँगन’लाई पुरस्कृत गरिएको छ। ‘रमादेवी–हीरालाल स्मृति पुरस्कार’बाट नगद १० हजार १०१ रूपैयाँसहित ‘आँगन’ गजल संग्रहलाई पुरस्कृत गरिएको हो।

गजलकार केशवराज आमोदी, पुरस्कारदाताको तर्फबाट ब्रम्हकुमारी बिमला सापकोटा र गजल मञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डितले गजलकार बराललाई पुरस्कार प्रदान गरेका थिए। नगद राशीसँगै दोसल्ला, फूलमाला र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो।
स्वर्गीय मातापिताको सम्झनामा भरतपुर–४, लंकु निवासी कोमलकान्त सापकोटाले स्थापना गरेको पुरस्कार गजल मञ्जमार्फत प्रदान गरिएको पहिलो पुरस्कार हो। स्वर्गीय सापकोटा ज्ञानज्योती पुस्तकालय लंकुका संस्थापक अध्यक्ष एवम् लक्ष्मी मावि लंकुको व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन्। हरेक वर्ष प्रदान गरिनेगरी पुरस्कार स्थापना गरिएको हो।
यो वर्षको पुरस्कारको लागि २०७४ मंसिरदेखि २०७५ मंसिरसम्म प्रकाशित भएका गजलसंग्रहमध्ये ‘आँगन’लाई उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरिएको संस्थाका अध्यक्ष प्रभाकर पण्डितले बताए।
सोही अवसरमा गजल गोष्ठीसमेत आयोजना गरिएको थियो। उक्त गोष्ठीमा १५ जना गजलकारहरूले गजल सुनाएका थिए।
यसैबीच निवर्तमान अध्यक्ष रमेश प्रभातलाई सम्मानपत्र र दोसल्लामार्फत सम्मान गरिएको थियो। सफल कार्यकालको उच्च कदर गर्दै गजलकार प्रभातलाई सम्मान गरिएको सचिव विनोद अनुजले जानकारी दिए।

कार्यक्रममा ‘गजल सारथि’को चौथो अंकसमेत विमोचन गरिएको छ।
गजलकार केशवराज आमोदी प्रमुख अतिथि रहेको कार्यक्रममा गजल मञ्च चितवनका संस्थापक अध्यक्ष किसान प्रेमी, पूर्व अध्यक्ष गोर्खे साइँलो, निवर्तमान अध्यक्ष रमेश प्रभात, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, साहित्यकार लकाश पौडेललगायतले मन्तव्य दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।