काठमाडौं- सरस्वती प्रतीक्षाको 'नथिया'सहित ३ कृतिमाथि परेको मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्चले बुधबार जारी गरेको छ।
सर्वोच्चले जारी गरेको पूर्णपाठमा विद्वानलाई इशारा नै काफी छ भन्दै अर्को संस्करण प्रकाशन गर्दा तथा अन्य कुनै साहित्य सिर्जना गर्दा सम्बन्धित व्यक्तिले वादी समुदायको भावानाका आघात पुग्नेतर्फ ध्यानाकर्षण गराएको छ।

‘कसैको पनि मान/सम्मान, ईज्जत, प्रतिष्ठा वा भावनामा आघात पार्ने काम कसैबाट हुन सक्दैन,’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘साहित्य सिर्जनाका सन्दर्भमा पनि स्वभाविक मानवीय भावना र प्रतिष्ठाप्रति विवेक पुर्याउन सकिएमा यसले समाजको अपनत्व ग्रहण गर्न सक्दछ।’
सामाजिक यथार्थ चित्रण गर्ने नाममा कुनै जातजाती, वर्ग वा समुदायको सम्मान र प्रतिष्ठामा आघात पार्ने कार्य हुनु शोभनीय नहुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ।


सर्वोच्चले वादी समुदायसँग भएको सहमति कार्यान्वयन गर्न र जातजातिप्रति घृणा र द्वेष फैलाउने शब्दचित्रसहितका चलचित्र प्रर्दशन गर्ने कुरामा पनि रोक लगाउन निर्देशनात्मक आदेश जारी गरेको छ।
वादी समुदायको कथामा आधारित २ कृति ‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ फिल्ममाथि मुद्दा परेकोमा सर्वोच्च अदालतले लेखकलाई समेत सचेत गराउँदै निर्देशनात्मक आदेश जारी गरेको हो।
सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया', विवेक ओझाको उपन्यास ‘ऐलानी’ र फिल्म ‘पण्डित बाजेको लौरी'माथि केही महिनाअघि वादी समुदायका अगुवा मीना नेपालीलगायतले मुद्दा दायर गरेका थिए। फिल्मका निर्माता खुमनाराज भण्डारी हुन्।
सर्वोच्चको फैसलाले ती कृतिको अर्को संस्करण प्रकाशन गरेमा संशोधन गर्नु पर्ने भनेको छ। बजारमा रहेका अंकका बारेमा भने सर्वोच्चले केही नभनेकाले बिक्री वितरण हुन पाउने देखिन्छ।
न्यायाधीश ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले फागुन १५ गते मुद्दा फैसला गरेका थिए।
नेपालीले परमादेशको आदेश माग गर्दै २०७५ असोज ४ गते दायर भएको निवेदनमा सर्वोच्चले फैसला सुनाउँदै अर्को प्रकाशन भएमा संशोधन गर्न भनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।