प्रिय देश,
तिम्रै कोखबाट जन्मेको
तिम्रै सन्तान हुँ म।
तिम्रै स्तन चुसेको
तिम्रै चकचके छोरो हुँ म
तिम्रै छातीमा रमाएको
तिम्रै हेपिएको सुपुत्र हुँ म
तिम्रै रगतमा समाहित भएको
तिम्रै नेपाली रगत हुँ म।
प्रिय देश,
तिम्रै शरीर हुँ म
हुँ म तिम्रै अङ्ग
म तिम्रै प्रतिविम्ब हुँ।
प्रिय देश,
तराई हुँ म
हुँ म पहाड
म हिमाल हुँ
नेपाल हुँ म
म नेपाल हुँ
नेपाली हुँ म
म नेपाली हुँ
म नेपाली हुँ
नेपाली हुँ म।
प्रिय देश,
तिम्रो यो अनागरिक छोरोलाई
नागरिकता देऊ
म यो देशको अनागरिकलाई
नागरिकता देऊ।
आफ्नै देशमा अनागरिक भएर बाँच्न
बडो गाह्रो हुँदोरहेछ
आफ्नै देशमा देशबिहीन भएर बाँच्न
बडो गाह्रो हुँदोरहेछ।
प्रिय देश,
तिम्रै अनन्त कविताको
पिछडिएको हरफ हुँ म
विभेद गरिएको प्रतीक हुँ म
विखण्डित विम्ब हुँ म
अस्तित्वबिहीन प्रतिविम्ब हुँ म।
तिम्रै अनन्त कथाको
कुरूप पात्र हुँ म
दुर्गम बस्तीको कुनै दुर्गम अस्थिपञ्जर हुँ म
अनागरिक संवाद हुँ म।
प्रिय देश,
तिम्रै ब्वाँसो सरकारले
नैतिकहीन र भ्रष्ट कङ्कालहरूले
युगौंदेखि विचाराधीन गरिरहेको पतित संसदले
पापी र छली न्यायाधीशहरूले
र कछुवा संविधानले
मलाई निकम्मा बनाइदिएका छन्
बनाइदिएका छन् मलाई मौन सालिक।
प्रिय देश,
तिम्रो यो अनागरिक छोरोलाई
नागरिकता देऊ
म यो देशको अनागरिकलाई
नागरिकता देऊ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।