काठमाडौं- साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा 'नेपाल'को शनिबार काठमाडौंमा निधन भएको छ।
उनका नाति डा. विपीन नेपालका अनुसार ९७ वर्षीय नेपाल केही समयदेखि अस्वस्थ थिए। उनको छातीमा सङ्क्रमण भएको थियो।
नेपालको शनिबार दिउँसो चाबहिलस्थित आफ्नै निवास निधन भएको हो।
उनका 'नेपाली शब्दसागर' शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्। नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन्।
उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जमा भएको थियो।
संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए।
उनले लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन पनि गरेका थिए।
शब्दसागरमा प्रकाशित उनको सङ्क्षिप्त परिचयमा विसं २००७ सालदेखि विभिन्न पत्रपत्रिका तथा रेडियो नेपालमा रेडियोमा उनले नेपाली, संस्कृत, नेवारी र हिन्दी भाषामा लेखेका लेख, रचना तथा नाटक विभिन्न उपनामबाट प्रकाशित वा प्रसारित हुन थालेको उल्लेख छ।
उनको पहिलो कृति 'युगको वारिस' विसं २००८ मा प्रकाशित भएको थियो।
उनले संस्कृत साहित्यका विभिन्न कृतिहरूको नेपालीमा भानुवाद गरेका छन्। तीमध्ये केही प्रकाशित हुन बाँकी नै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।