काठमाडौं– नेपालयले आयोजना गर्दै आइरहेको पलेंटीमा यसपालि छन्द कविता गाइने भएका छन्। नाट्यकर्मी समेत रहेकी भूषिता वशिष्ठलाई संगीतकार आभासले साथ दिने भएका हुन्।
जसमा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका कविहरूका रचना समावेश हुनेछन्।
छन्द परम्परा नेपालमा मात्र प्रचलित शैली होइन। छापाखाना अथवा प्रिन्टिङ प्रेसको सुरूवात हुनुभन्दा पहिले संसारभरिका ग्रन्थहरू गाउन मिल्ने भाकामै लेखिन्थे। धुनमा बाँधिएका ग्रन्थहरू सम्झनामा लामो समय राख्न सहज मानिन्थ्यो। गाथा-गायनदेखि छन्द कवितासम्मका श्रुतिपरम्पराले पुरातन मानव परम्पराको इतिहासलाई जोगाउन मद्दत गरेको पाइन्छ।
कथा र संदेशलाई गीत अथवा भाकामा समेटेर भन्नुपर्ने कारणले ती रचनाहरू छरिता र चुनिँदा हुनु जरुरी हुन्थ्यो। त्यही घनत्वका कारणले नेपाली छन्द कविताहरू साहित्यिक हिसाबले विशेष र समृद्ध छन्।
तर, लामो समयदेखि नेपाली छन्दमा ध्यान नपुगेको हुनाले यसपालीको पलेंटीलाई छन्दमय बनाउन खोजिएको हो।
साहित्यमा क्रियाशील भूषिता वशिष्ठले स्वेच्छाले तयार पारिरहेको छन्दको अभिलेखलाई सामाजिक सञ्जालमा वाचन गरेको सुनेपछि उनै भुषिता मार्फत पलेंटीमा छन्द प्रस्तुत गर्ने आयोजकले योजना बनाएको हो।
भूषितामा बाल्यकालदेखिकै छन्दमोह थियो। बाल्यकालमा भूषितासँग उनका अभिभावक कविताबाटै आफ्नो कुरा अभिव्यक्त गर्थे।

भूषिता अहिले छन्द कविताका भाकाहरूबाट मात्र होइन यसभित्रको साहित्यिक र दार्शनिक पक्षसँग पनि मोहित छिन्।
छन्द पलेंटीको प्रस्तुति अप्रिल २६, २७, २८ तारिख साँझ कालिकास्थान स्थित नेपालयको कार्यक्रम स्थल ‘आर’ शालामा हुनेछ।
कार्यक्रमको टिकेट बुकिङ पलेँटीको सामाजिक संजाल, नेपालय र www.thrupai.com मार्फत् गर्न सकिने कुरा नेपालयले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।