काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले बाँकि रहेको २० महिनाभित्र सबै काम सम्पन्न हुने गरी पुनर्निर्माणको काम सम्पन्न हुने पनि विश्वास व्यक्त गरे। उनले भूकम्पीय जोखिमबाट निराश नहुन पनि सर्वसाधारणलाई अपिल गरे।
चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा काठमाडौंको वसन्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक भूकम्पीय जोखिम भएकाले नै त्यसको असर नहुने गरी भूकम्प प्रतिरोधी घर निर्माणका लागि सरकारले आवश्यक सबै खालको सहयोग गरिरहेको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले पूरानै शैलीबाट सम्पदाहरुको पुनर्निर्माण हुनेमा पनि ढुक्क हुन सबैलाई आग्रह गरे। उनले विगतका भन्दा अझ आकर्षक र आधुनिक ढंगले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको पनि स्मरण गराए।

प्रधानमन्त्री ओलीले नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनु पर्ने धारणा राखे। 'नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन्। हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो, तर हामीले नेपालाई विद्वानहरुको देश भनेर पनि चिनाउनु पर्छ', प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूराना सम्पदाहरुको संरक्षण हुने गरी ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा भएका बस्तीहरुको पुनर्निर्माणको लागि गुरुयोजना पनि तय गरिएको जानकारी दिए।
उनले सम्पदाहरुको संरक्षणमा स्थानीय सरकार पनि अग्रसर हुने गरी गुरु योजना तय गरिएकाले हाम्रा सम्पदाहरुको संरक्षण हुँदैनकी भन्ने शंका गरिरहन नपर्ने पनि स्पष्ट पारे। प्राधिकरणले विश्वमै उदाहरणीय हुने गरी पुनर्निर्माणको काम तोकिएकै समयमा सम्पन्न गने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको प्रतिबद्धता छ।

प्राधिकरणले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिनेगरी आवश्यक योजना र बजेट तय गरिएको पनि जनाएको छ।
प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गरेका थिए।
साे क्रममा प्रधानमन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरेका थिए। उनले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाडाैं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिए।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।