सबैभन्दा सुन्दर काम हो
सुन्दर सपना देख्नु
फूलको मुस्कान कत्ति मोहक हुन्छ
चराहरूको कलरव कत्ति मधुर हुन्छ
कत्ति सुन्दर हुन्छ– प्रेम
कत्ति मीठो हुन्छ– सपना
कति प्रेमिल हुन्छ– जीवन!
सपना निदाउँदा पनि देखिन्छ
सपना अनिँदैमा पनि देखिन्छ
कसकसको सपनामा केके देखिन्छ–
सौखिन घडी देखिन्छ कि शोकमग्न समय?
कोलाहल मौसम देखिन्छ कि बतासको मौन पदचाप?
आफूमात्रै देखिन्छ कि अरु पनि?
देखिन्छ कि देखिँदैन सपनामा
उज्यालोको सानै भए पनि दियालो?
जस्तोकि,
अवसरहरूको पुलिन्दा बोकी
प्रत्येक बन्द ढोका ढक्ढक्याउन
आँखा मिच्दै सबेरै आओस् हुलाकी बतास,
सुखद् समाचारका हेडलाइन बनेर
छरियोस् घामको पहिलो किरण
र समेटेर त्यसलाई
छ्यापछ्यापती टाँस्दै हिँडोस् हकर
हरेक मन्दिर, चर्च, गुम्बा र मस्जिदहरूमा
घर, अफिस र विश्वविद्यालयहरूमा!
हो यस्तै सपना देख्नुपर्छ अब हाम्रा आँखा र मनले,
जस्तो कि,
सपनामा पनि हाँसोस् मानवता
अनुभूत होओस् बुद्ध शान्ति
सपनामै बगोस् उत्साहको नदी
अनि काटियून दुई चारवटै भए पनि दुस्वप्नका छालहरू
र छापियून ढुंगामा सपनाको अस्तित्व
हो, यस्तै हुनुपर्छ सपना
देखिने हुनुपर्छ
हेरिने हुनुपर्छ
र, छोइने हुनुपर्छ
शेष सपनाको अवशेषमा
गुन्जिनुपर्छ अब
यतै कतै हराइरहेका सचेतनाका धुनहरू
सुनिनुपर्छ
भीडमा दबाइएका मानिसहरूका सुँक्कसुँक्क
बल्नुपर्छ मुस्लो बनेर
अनकन्टारमा धिपधिपाइरहेका स्वप्निल दियोहरू
र, चम्किनुपर्छ हजारौं आकाशको आयतनमा
क्रमशः पग्लँदै गरेका धीमा स्वप्नशिखाहरू
मानिसहरूले सुन्दर सपना देख्न छाडेको
समयको यो डिलमा उभिएर
सोध्न मन छ मलाई
सारा संसारसित –
कस्तो छ हामीले देखिरहेको सपना?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।