काठमाडौं : एशियाली फुटबल महासङ्घ (एएफसी) यु–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
आइतबार म्यानमारमा भएको खेलमा नेपाललाई उज्वेकिस्तानले ४–० गोलले पराजित गरेको हो। पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाललाई अस्ट्रेलियाले ११-१ ले पराजित गरेको थियो।
चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू–१५ महिला टोली र छन्दु प्रान्तको यू–१८ टोलीसँग अभ्यास खेलसमेत खेलेको थियो ।
छनोटमा अष्ट्रेलिया र उज्वेकिस्तानपछि नेपालले अब १७ गते आयोजक म्यान्मासँग खेल्नेछ। छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन्। त्यसैले नेपालको तेस्रो चरण पुग्ने सम्भावना लगभग सकिएको छ।
गत कात्तिक दोस्रो साता थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। नेपालले तीन खेलबाट छ अङ्क बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो।
सरु लिम्बूको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, रेबिका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समीक्षा घिमिरे, विमला विश्वकर्मा, पूजा रानामगर, सलोनी रानामगर, सबिता रानामगर, मिडफिल्डरमा, मञ्जलीकुमारी योञ्जन, मेनुका आलेमगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल तथा निर्मला उपाध्याय रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।