काठमाडाैं- रोल्पामा भएको ‘दोस्रो राष्ट्रिय कविता प्रतियोगिता २०७६’ मा खोटाङका युवा कवि मोहन पोखरेल ‘सङ्ग्राम’को 'झोलामा देश' नामक कविता प्रथम भएको छ। प्रतियोगितामा देशभरका १ सय ८७ जना कवि कवयत्रीको सहभागिता रहेको थियो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क खोटाङका कवि सङ्ग्रामले प्रतियोगिताको प्रथम हुँदै ४० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्। काठमाडौँस्थित आरआर क्याम्पसमा पत्रकारिता र राजनीति शास्त्रको स्नातक दोस्रो वर्षमा अध्ययनरत छन्।
‘पर्यटन विकासका लागि साहित्य’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कैलालीका मोहित जोशी दोस्रो, सिन्धुपाल्चोकका पवन ढुङ्गाना तेस्रो र नुवाकोटकी गीता पुँडासैनी र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना भएका छन्। गत वर्षदेखि आयोजना गरिएको प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार र १०/१० हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारेका छन्।
तत्कालीन नेकपा माओवादीको दश वर्षे सशस्त्र युद्धको उद्गम थलो तथा ऐतिहासिक स्थलसमेत रहेको रोल्पा नगरपालिकालाई साहित्यको माध्यमबाट पर्यटनमा विकास गर्ने उद्देश्यले ‘रोल्पा गुराँस साहित्य मेला २०७६’ को आयोजना गरिएको आयोजक समितिका सदस्य खेमराज गाउँलेले जानकारी दिए।
यही बैसाख १५ गतेदेखि सुरु भएको साहित्य मेला बैसाख १८ गतेसम्म सञ्चालन हुने आयोजक रोल्पा नगरपालिकाले जनाएको छ। ४ दिनसम्म सञ्चालन हुने महाेत्सवको अवसरमा जलजला पदयात्रा, रचना वाचन, जनयुद्ध र साहित्यसम्बन्धी अन्तरक्रियालगायत कार्यक्रम हुने जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।