काठमाडौं– एएफसी कपको समूह 'ई' का सुरुवाती २ चरणका खेल सकिएका छन्। २ चरणका खेल सकिदा ३ वटा क्लबले अंकको खाता खोलिसकेका छन्।
इन्डियन सुपर लिग च्याम्पियन चेन्नइयीन ४ अंक जोड्दै शीर्ष स्थानमा छ। उसले १ खेलमा बराबरी र १ खेलमा जित निकालेको छ। दोस्रो स्थानको बंगलादेशको लिग च्याम्पियन ढाका अबाहानी पनि चेन्नइयीनसँग समान अंक जोडेर दोस्रो स्थानमा छ। भारतीय आइ लिग च्याम्पियन मिर्नेभा पञ्जाव सुरुवाती दुवै चरणका खेलमा बराबरी खेलेर २ अंकसहित तेस्रो स्थानमा छ। तीनै वटा क्लबले सुरुवाती खेलमा हार बेहोरेका छैनन्।
समूह 'ई' मा रहेको नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भने सुरुवाती दुवै खेलमा हार बेहोरको छ। समूहमा अंकको खाता खोल्न नसक्ने र दुवै खेल हार्ने एक्लो टिम मनाङलाई पहिलो खेलमा ढाकाले र दोस्रो खेलमा चेन्नइयीनले पराजित गरेका थिए। एन्फा कम्प्लेक्समा भएको खेलमा ढाकाले मनाङलाई १–० ले हराएको थियो। दोस्रो खेलमा मनाङले चेन्नइयीनको मैदानमा २–० को पराजय भोग्यो।

सुरुवाती दुवै खेलमा हार बेहोरेपछि मनाङ दबाबमा छ। दबाबका बीच मनाङले बुधबार तेस्रो खेल खेल्दै छ। मनाङले तेस्रो खेलमा आइ लिग च्याम्पियन मिर्नेभा पञ्जावसँग भुवनेश्वरमा खेल्दैछ। मनाङलाई अघिल्लो चरणमा पुग्नका पञ्जावसँगको खेल महत्वपूर्ण छ। अर्कोतर्फ अंकको खाता खोल्न नसकेको मनाङका लागि कम्तिमा बराबरीले पनि रहात दिलाउन सक्छ।
सुरुवाती २ खेलमा गोल गर्न नसकेको मनाङका लागि बुधबार हुने तेस्रो खेलमा गोल गर्नु पर्ने चुनौती छ। किनकी पञ्जावका ६ जना डिफेन्डर विदेशी छन्। पञ्जावमा कोलम्बियाका रोद्रिगेज, घानाका खालिफ, ट्रिनिडाडका रोबर्ट प्रिमुस र आइभरी कोस्टका लान्सिन टाउरे छन्। यस्तै सिरियाका मोमहद अन्नाह र नाइजेरियका करिम ओमालाजा पनि छन्।
नेपालका प्रशिक्षक छिरिङ लोप्सानले सुरुवाती दुई खेल हारेपछि अब जितका लागि खेल्ने बताएका छन्। उनले भारत उड्नुअघि मनाङको अबको एक मात्र लक्ष्य जित भएको बताएका थिए।
एएफसी कप तेस्रो चरण
मनाङ मर्स्याङ्दी क्लब भर्सेस मिर्नेभा पञ्जाव – खालिङगा रंगशाला (भुवनेश्वार)
मिति– वैशाख १८ गते बुधबार
समय– साँझ सवा ६ बजे
टिम मनाङ– विशाल श्रेष्ठ, अशोक बराल, दीप कार्की, मोमहद असिफ, विराट महर्जन, सुरज विक, छिरिङ गुरुङ, तेज तामाङ, प्रकास बुढाथोकी, विशाल राई, अभिषेक रिजाल, हेमन गुरुङ, सुजल श्रेष्ठ, प्रवेश कुँवर, कमल श्रेष्ठ, अन्जन विष्ट, सुमन अर्याल, राजेश परियार, आसिस लामा, सन्जोग राई, देवेन्द्र तामाङ, विमल राना, विशाल बस्नेत, सहिद अजिज, सोमिडे एडेलाजा, शिव श्रेष्ठ, अफिज ओलावाले ओलाडिपो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।