काठमाडौं- बत्तीसपुतलीस्थित शिल्पी थिएटरको छेवेमै छ, दुईतले भवन। जब तपाईं गेटबाट शिल्पीको आँगन टेक्नुहुन्छ। बाँयातर्फको माहोलले ध्यानाकर्षित गर्न सक्छ।
जहाँ कफीको चुस्की लिँदै पुस्तक पढिरहेका पारखीहरु टुट्दैनन्।
साँझ ढल्नुअगावै हामी यहाँ प्रवेश गर्छौं।
हेर्दा कफी सप जस्तो, यद्यपि र्याकका भित्ता नेपाली र विदेशी पुस्तकले सजिएका थिए। लहरै खाली कुर्सीहरू छन्, कसैको पर्खाइमा बसिरहे जस्ता।
सञ्चालक इन्द्रध्वज क्षेत्रीले मुस्कुराउँदै स्वागत गरे। हातमा पुस्तक लिएर बसेका शारदा क्षेत्री र प्रितम सुवेदीले पनि स्वागतको भाव जनाए।
'भर्खरै उद्घाटन भएको ‘डबली द स्पेस’बारे कमैलाई थाहा हुन सक्छ। प्रचार हुन त बाँकी नै छ। आउनेहरूका क्रम भने जारी छ,’ सञ्चालक क्षेत्रीले भने। उनका अनुसार माथिल्लो तलामा हल बनिरहेको छ।

पुस्तकप्रेमीहरू अध्ययनका लागि शान्त ठाउँ खोज्छन्। पाठकहरूकै लागि माथिल्लो तलामा शान्त वातावरण निर्माण गर्ने उनले बताए।
कफी नेपाली समाजमा नयाँ संस्कृति बन्दै गएको छ। चिया वा कफी पिउँदै अध्ययन गर्नुले नयाँ अनुभूतिसमेत सिर्जना गर्छ। ‘विदेशमा त प्रचलनमा छ, तर नेपालमा यो नयाँ प्रचलन हो,’ क्षेत्री भन्छन्।
एउटा लाइब्रेरी जस्तो। जहाँ अध्ययनको माहोल बन्छ। छानीछानी पुस्तक पढ्न सकिन्छ। शब्दसँगै कफीका स्वाद एकैसाथ लिन सकिन्छ।
‘कफी मात्र हैन,थिएटरभित्र भएकोले कफी, बेकरी, पराठा र स्वस्थ तथा फरक किसिमको स्थानीय खानाहरु पस्कने प्रयासमा छौं,’ उनी सुनाउँछन्।
यहाँको पुस्तक पढ्नका लागि मात्र होइन, किन्न पनि सकिन्छ।
झट्ट हेर्दा व्यवसाय जस्तो!
तर, क्षेत्री यसलाई विशुद्ध व्यवसाय मान्न तयार छैनन्, ‘पैसा कमाउन त अरु नै व्यवसाय गर्न सकिन्छ, यो त आत्मसन्तुष्टिको लागि हो।’

जिज्ञासा राख्दै गएपछि ‘डबली द स्पेस’को उद्देश्यबारे प्रस्ट्याउँदै जान्छन् क्षेत्री। मानिसको पठन र बहस संस्कृतिसँग डबलीको ‘थिम’ जोडिएको छ। यस अर्थमा पनि बहस गर्नका लागि यो बलियो ‘स्पेस’ हो।
विश्वविद्यालयमा छलफल तथा बहस संस्कृति ओरालो लाग्दो छ। भिडभाड र साँघुरिँदै गएको काठमाडौंमा छलफल र बहस गर्ने ठाउँको अभाव छ। सार्वजनिक मञ्च भूमाफियाहरुले हडपिइरहेका छन्।
त्यसका लागि आफैं पनि मञ्च खोजिरहेका क्षेत्रीले नयाँ उपाय सोचे। उनी आफैं आम सञ्चारका विद्यार्थी। लामो समय मूलधारको मिडियामा समेत काम गरेका।
बढ्दो हुटहुटीलाई सार्थक बनाउनतिर योजना बनाए। पढ्ने र बहस गर्ने माध्यमबारे साथी सर्कलसँग छलफल गरे। त्यसपछि सुरु गरे, ‘डबली द स्पेस’।
यसको सुरुवात चितवनबाट भयो। अघिल्लो बैसाखमा चितवनमा यसको उद्घाटन गरियो। लगानी थियो ५० लाख। उनीसँगै डा जीवन क्षेत्री, मनोज क्षेत्री र शारदा क्षेत्री यसमा साझेदार बने।
सुरुका दिनदेखि नै उनीहरूको उद्देश्यले सार्थकता पाउँदै गयो। ६० जना अट्ने हलको क्षमता बनाइयो। डबलीमा युवा तथा विद्यार्थीहरू आउन थाले। पुस्तक पढ्नेहरूको क्रम बढ्दै गयो। विभिन्न बहस तथा कार्यक्रमले निरन्तरता पाइरहे।

कमेडी शो, बुक डिस्कसन, कला प्रदर्शनी, कविता वाचन, समसामयिक बहस जस्ता कार्यक्रमले स्पेस पाउँदै गए।
‘अनि हाम्रो ऊर्जा पनि बढ्यो,’ क्षेत्रीले भने।
काठमाडौंको उत्साह
चितवनमा सुरु गरेको डबलीलाई बिस्तार गर्ने क्षेत्रीको सोच थियो।
करिब तीन महिनाअघि।
एकदिन शिल्पी थिएटरमा नाटक हेर्न गएका थिए उनी। शिल्पीको छेवैमा नयाँ भवन बनिरहेको थियो। भवनले उनलाई आकर्षित गर्यो। लगत्तै उनले सोचे, ‘डबली यहीँ बनाउन पाए!’
त्यसपछि उनले समूहमा छलफल गरे। योजना बनाए।
अन्ततः बैसाख ३ गते ‘डबली द स्पेस’को उद्घाटन भयो।
इन्जिनियरिङका विद्यार्थी प्रितम सुवेदीसमेत डबलीमा सक्रिय छन्।
यहाँ उनीहरूको नयाँ कन्सेप्ट छ। ‘कार्यक्रमको परम्परागत संस्कृति तोड्ने र नयाँ संस्कृतिको निर्माण गर्ने,’ सुवेदी भन्छन्, 'मञ्चमा धेरै अतिथि राखेर कार्यक्रम भद्दा हुन्छ। यसमा हामी अन्यभन्दा फरक छौं।’

डबलीको यो कन्सेप्टलाई बौद्धिक वर्गहरूले प्रोत्साहित गरेका छन्। साथ दिने शुभचिन्तक पनि प्रशस्त छन्। क्षेत्री र सुवेदीसँगै अरु पुस्तक पारखी पनि लागिपरेका छन्।
‘विदेशमा भएका साथीसमेत नेपाल फर्केर यही काम गर्न उत्सुक छन्,’ खुसी हुँदै क्षेत्रीले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।